कक्षा १२ को नतिजा ३९ दिनमै सार्वजनिक : ३ लाख ३२ हजारमध्ये १ लाख विद्यार्थी असफल।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाले मिश्रित तस्वीर देखाएको छ। कुल ३ लाख ३२ हजार २४१ नियमित परीक्षार्थीमध्ये १ लाख ४ सय ७१ जना विद्यार्थी नन–ग्रेड भएका छन्। अर्थात् करिब तीनमध्ये एक विद्यार्थीले अपेक्षित ग्रेड हासिल गर्न सकेनन्।

नतिजाअनुसार २ लाख ३१ हजार ७७० जना विद्यार्थी ग्रेडेड भएका छन्। उच्च उपलब्धि हासिल गर्ने विद्यार्थीमध्ये १७ हजार ७८६ जनाले ३.६१ देखि ४.०० जीपीए प्राप्त गरेका छन् भने ६४ हजार ८२१ जनाले ३.२१ देखि ३.६० जीपीए हासिल गरेका छन्। सबैभन्दा धेरै विद्यार्थी २.८१ देखि ३.२० जीपीए समूहमा रहेका छन्, जसको संख्या ९४ हजार २४९ छ।
यस वर्ष नियमित र आंशिकतर्फ गरी ४ लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए। परीक्षाको मर्यादा उल्लंघन गरेको आरोपमा ४० जनाको परीक्षा रद्द गरिएको छ भने दुई जनालाई भविष्यमा राष्ट्रिय परीक्षा बोर्डका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने निर्णय गरिएको छ।

आंशिकतर्फको नतिजा भने थप चिन्ताजनक देखिएको छ। नियमिततर्फ करिब ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा आंशिकतर्फ यो दर ४२.३८ प्रतिशतमा सीमित भएको छ। आंशिकतर्फ परीक्षा दिएका ८५ हजार ९२९ जनामध्ये ३६ हजार ४२० जनाले मात्र सबै विषयमा उत्तीर्ण ग्रेड प्राप्त गरेका छन्।

वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षा सम्पन्न भएको ३९ दिनमै बोर्डले नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार आवश्यक ग्रेड प्राप्त गरेका विद्यार्थीले १५ दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन तथा प्रोभिजनल प्रमाणपत्रका लागि आवेदन दिन सक्नेछन्।
यस वर्षको नतिजाले उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या उत्साहजनक देखिए पनि नन–ग्रेड हुनेको ठूलो संख्याले नेपालको विद्यालय शिक्षाको गुणस्तर र सिकाइ प्रणालीबारे गम्भीर प्रश्न उठाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation