सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी प्रवेश, स्थानीयको विरोधपछि फर्किए

पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी नेपाली भूमितर्फ प्रवेश गरेको भन्दै स्थानीयले विरोध जनाएका छन्। स्थानीयवासीका अनुसार हतियारसहित आएका भारतीय सुरक्षाकर्मी सीमा क्षेत्रमा रहेको खोला पार गरेर नेपाली भूमिमा पुगेका थिए।
सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार सुरक्षाकर्मीहरू नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीयले उनीहरूलाई रोकेर आउनुको कारणबारे सोधपुछ गरेका थिए। यस क्रममा केही समय विवादको अवस्था सिर्जना भएको बताइएको छ।
स्थानीयवासीले विरोध जनाउँदै प्रतिकारमा उत्रिएपछि भारतीय सुरक्षाकर्मी फर्किएको जानकारी दिइएको छ। सुस्ता क्षेत्र लामो समयदेखि सीमा विवादसँग जोडिँदै आएको संवेदनशील क्षेत्र मानिन्छ।
स्थानीयका अनुसार केही दिनअघि पनि भारतीय पक्षले सीमा क्षेत्रमा निर्माणाधीन तटबन्धको काम रोक्न दबाब दिएको थियो। तटबन्ध निर्माणको करिब १३२ मिटर क्षेत्रमा काम नगर्न भारतीय पक्षले आग्रह गरेको स्थानीयको दाबी छ।
घटनापछि सीमा क्षेत्रको सुरक्षाबारे स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। यस विषयमा सम्बन्धित निकायले आवश्यक पहल गरी सीमा क्षेत्रमा हुने यस्ता गतिविधिप्रति ध्यान दिनुपर्ने माग समेत उठेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation