
खुम रायमाझी,
भूमिकास्थान नगरपालिका नगरस्तरिय युवा संजालका संयाेजक टेकराज भुसालले गत तिहार पछि अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ५ र ६ खिल्जी असुरकोटमा भएको बस दुर्घटना बाट २ जनाको निधन र दर्जनौं घाइतेको उपचार, क्षतिपूर्ति र लापरबाही पुर्बक बस चलाएको कारण दुर्घटना भएकोले चालकलाई कार्बाही बिषयमा सन्धिखर्कमा भएको दबाब मुलक आन्दोलनको सिलसिलामा भएको कोण सभामा बोलेको छलफलमा आक्रोश व्यक्त गरेकाे भन्दै खिल्जीका प्रकाश बेल्वासे, डासिराम श्रेष्ठ, मदन श्रेष्ठ र रविन परियारलाई प्रहरीले पक्रनु अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन हुनुका साथै राज्यको अक्षम्य र निन्दनीय व्यवहार भएको टिप्पणी गरेका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा संयाेजक भुसालले ४ जना युवालाई बोलेकै आधारमा प्रहरीले पक्राउ गर्नुले कानुनी शासन र अभिव्यक्ति स्वतन्त्रताको गम्भीर उल्लंघन भएको टिप्पणी गरेका हुन्।
भूमिकास्थान नगरपालिका–५ र ६ सीमाना खिल्जीको उदयठाँटीमा गाउँका युवा, क्लब, विभिन्न समूहको संयुक्त देउसीभैलो सञ्चालन भएको थियो साेहि समयमा सन्धिखर्कबाट प्यूठानतर्फ जाँदै गरेको ना ३ ख २४७१ नम्बरको बस अनियन्त्रित रुपमा भैलो खेलिरहेका कलाकारमाथि गएपछि बसले किच्दा दुई जनाको घटनास्थलमै ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए।
कात्तिक २० गते उक्त घटनाबाट घाइते सहितका गाउँलेको ठूलो समूहले घटनाको प्रहरीले चासो नदेखाएको, ढिलासुस्ती गरेको, फरार चालकलाई नियन्त्रणमा नलिएको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको गेट अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए।
विरोधमा भूमिकास्थान नगर प्रमुख झविलाल थापा, बालकृष्ण बञ्जाडे लगायतको राजनीति दलका नेतासमेत सहभागी थिए ।
प्रशासन कार्यालय गेटमा सानो समूहमा रहेका प्रहरीलाई धकेलेर आन्दोलनकारी प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको कार्यकक्षमा प्रवेश गरे । सीसी टिभीमा स्पष्ट देखिने गरी कार्यकक्षमा अर्यालमाथि अभद्र व्यवहार गर्दै उच्छृंखल गतिविधि गरेकाले सोमबार चार जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको र थप अरु केहीलाई नियन्त्रणमा लिइने प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बताएका छन्।