
रुपन्देही । राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्ध राजधानी केन्द्रीत आन्दोलन गर्ने घोषणा गरेको छ । आन्दोलनको प्रकार कस्तो रहने विषयमा जनमोर्चाले आइतवार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।
पार्टीका जिल्ला अध्यक्ष टान बहादुर केसी जिल्ला अध्यक्षको अध्यक्षता र राजमो जिल्ला सदस्य गंगा सापकोटाको संचालनमा पत्रकार सम्मेलन गरिएको थियो। पत्रकार सम्मेलनमा आगामी चैत्र २४ गतेदेखि ३० गतेसम्म प्रदेश खारेजको विषयलाई राजधानी केन्द्रीत बनाएर आन्दोलन गर्ने तयारी भएको जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा बोल्दै राजमो अध्यक्ष चित्र बहादुर केसीले आन्दोलनलाई सफल बनाउन गत मंसिरमा जिल्लादेखि टोलसम्मका भेला सम्पन्न गरिसकेको, पुसमा विभिन्न तहका प्रशिक्षण कार्यक्रम गरिएको बताइएको थियो ।
सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले संघीयता विरुद्धको आन्दोलन राष्ट्रिय जनमोर्चाले आह्वान गरेपनि यो आन्दोलन आमदेशभक्त नेपाली जनताको आन्दोलन भएको जिकिर गरे ।
अध्यक्ष केसीले संघीयता देशको हितमा नभएको बताउँदै संघीयता भिडाउनेको भन्दा भिर्नेहरुबाट नै संघीयताको नामले नेपाली जनताले बलिदान गरेर ल्याएको गणतन्त्र र लोकतन्त्रलाई सिध्याउँछन् कि भन्ने खतरा बढेको बताए ।
संघीयता विरुद्धको राजधानी केन्द्रीत आन्दोलनको पक्षमा रुपन्देहीमा राजनीतिक वातावरण तयार पार्न जिल्लाव्यापी पर्चा वितरण, जनभेटघाट, भित्ते लेखन जस्ता कामलाई तीव्रता दिइने र जिल्लास्तरीय दुईवटा अन्तक्र्रिया कार्यक्रम यही माघ ५ गते गर्ने उल्लेख गरिएको छ । माघ १० गतेदेखि १२ गतेसम्म जिल्लाव्यापी घुम्ती कोणसभाको आयोजना गरिने जनाइएको थियो ।
फाल्गुन ३ गते बुटवलदेखि बेलहियासम्म मोटरसाइकल र्यालीको आयोजना गर्ने र राजधानीमा हुने संघीयता विरुद्धको आन्दोलनको पक्षमा वातावरण तयार पार्न विभिन्न प्रचार कार्यक्रम तय गर्नुको साथै पुस २१ देखि संगठानात्मक अभियानलाई जोड दिईने जिल्ला अध्यक्ष केसीले बताए ।
केसिले उक्त आन्दोलन सफल पार्न सम्पुर्ण देश बिदेशमा रहने देशभक्त नेपालीहरुलाइ आव्हान गरे।