
रुपन्देहीको बुटवल–१० रामनगरमा निर्माण भएको पशु बधशालामा जान मासु व्यवसायी तयार भएका छन् । लामो समयदेखि आफुहरुले टेन्डर नपाएको भन्दै बधशाला नजाने घोषणा गरेका बुटवलका मासु व्यवसायीहरुले विहिबार २५ बुँदे सम्झौता गरी बधशाला जान तयार भएका हुन् ।
बुटवल उपमहानगरपालिकामा एक औपचारिक कार्यक्रम आयोजना गरी सहमतिपत्र आदान प्रदान गरिएको हो । यद्यपी यो सम्झौता गत माघ ८ गते नै भएको थियो । कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलका हरेक समस्या समाधानको लागि नगरपालिका सकारात्मक भएर लाग्ने बताए । उनले मासु व्यवसायीहरुले बधशाला जाने निर्णय गर्नु आफैमा सकारात्मक, स्वागत योग्य भएको जनाए ।
बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले बधशाला बुटवलबासी र लुम्बिनी प्रदेशको लागि आवश्यकता रहेको भन्दै उनले दिर्घकालिन स्वास्थ्यको हिसाबले पनि बधशालामा बध गरिएको मासु खानुपर्ने बताईन् । त्यस्तै मासु व्यवसायी संघ नेपाल रुपन्देहीका अध्यक्ष विशाल थापाले सम्झौता उल्लेख गरिएको बुँदा पूर्णरुपमा पालन गर्नको लागि दुवै पक्ष सचेत हुनुपर्ने बताए । होटेल व्यवसायीका संघका अध्यक्ष लेखनाथ भण्डारीले ,यो संझौताले बुटवलबाशिले स्वच्छ मासु पाउने बताए ।