अर्काको जग्गाको नक्कली धितो राखेर एक करोड २० लाख कर्जा लिने तीन जना पक्राउ

काठमाडौं । अर्काको जग्गाको नक्कली जग्गाधनी श्रेस्ता बनाई बैंकमा धितो राखेर एक करोड २० लाख कर्जा लिएका तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १ का २२ वर्षीय गौरव कार्की, सोही ठाउँका ३५ वर्षीया ईश्वरी माया रोका र बाराको जितपुर नगरपालिका– ३ का ३५ वर्षीय दिलिपकुमार सिंह छन् ।

बाँकेबाट खटिएको प्रहरीले काठमाडौं प्रहरीको सहयोगमा उनीहरूलाई माघ ८ गते काठमाडौंमा बुद्धनगर र कोटेश्वरबाट पक्राउ गरी बाँके ल्याएको हो । उनीहरूले बाँकेको डुडुवा गाउँपालिका– ५ को कित्ता नम्बर १५१ र कित्ता नम्बर १५२ को ३३ कट्ठा जग्गाको नक्कली धनीपुर्जा बनाई काठमाडौंमा शाखा रहेको एक बैंकबाट एक करोड २० लाख रूपैयाँ कर्जा लिएका थिए ।

सो जग्गा जुम्लाको चन्दननाथ नगरपालिका– ८ का रेश्मा श्रेष्ठको थियो । गौरव, ईश्वरी र दिलिपले कर्जा लिएको रकम आपसमा बाँडफाँट गरी ठगी गरेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी आयुष प्रसाद जोशीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation