रबि लामिछाने रुपन्देही अदालतमा उपस्थित हुँदै थुनछेक बहस हुने

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज आइतबार पनि अदालत उपस्थित हुँदैछन् ।

शुक्रबार थुनछेक बहस नसकिएपछि पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई परिवारको जिम्मा लगाइएको थियो  । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार रविको बयान भइ बिहीबारदेखि थुनछेक बहस शुरू भएको थियो ।

शुक्रबार पनि थुनछेक बहस नसकिएकाले आइतबार पुनः अदालतमा उपस्थित गराउने गरी वकिल र पत्नी निकिताको रोहबरमा रविलाई जिम्मा लगाइएको थियो । आइतबार पनि बहस निरन्तर हुने भएकाले लामिछाने अदालत उपस्थित हुने भएका छन् । आइतबार थुनछेक बहस सक्ने तयारी छ ।

शुक्रबार जाहेरीकर्ताको तर्फबाट डा. सुरेन्द्र भण्डारी, आरसी गौतम लगायतले बहस गरेका थिए ।
प्रतिवादी लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरेका छन् ।

सुप्रिम सहकारीको २ करोड रूपैयाँ रवि लामिछानेको नाममा गोर्खा मिडियामा प्रवाह भएको तथ्य सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।

प्रहरी अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले माघ ६ गते रविविरुद्ध पूरक जाहेरी दर्ता गरेको थियो ।

थुनछेक बहसपछि अदालतले रविलाई साधारण तारेखमा छाड्ने, धरौटी तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा आदेश गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation