अछामको ढकारी गाउँपालिका-८ का दुई जना किशोरीको शंकास्पद मृत्युको घटनामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । अछाम प्रहरीका अनुसार सोमबार दिउँसो ढकारीकै थप दुई जनालाई पक्राउ गरिएको हो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याइँदै छ ।
स्रोतका अनुसार यसअघि प्रहरीले नियन्त्रणमा लिएका दुई जनाले हत्यामा आफू संगलग्न भएको संकेत गरेपछि प्रहरीले अनुसन्धानको दायरालाई फराकिलो बनाउँदै लगेको छ ।
ढकारी गाउँपालिका-८ कै एक किशोरीले शुक्रबार दिउँसो २ बजेतिर दुई किशोरीको शव भेटिएको ठाउँको पारिपट्टि डाँडाबाट ५ जनाले ढुंगा खसाल्दै गरेको देखेको भनेपछि अनुसन्धान त्यसतर्फसमेत मोडिएको प्रहरीको भनाइ छ । १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको शव १५ मिटरको दूरीमा रहेको थियो ।
घटनास्थलबाट करिब ५ सय मिटरमाथि रगतसमेत देखिएको स्थानीयले प्रहरीलाई जानकारी गराएका छन् । दुवै किशोरीको शवको नेपालगन्जमा पोस्टमार्टम गरिसकिएको आफन्त रमेश भण्डारीले बताए । यस घटनामा अछाम प्रहरीले अहिलेसम्म चार जनालाई नियन्त्रणमा लिइसकेको छ ।