ओखलढुंगामा टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु

सिद्धिचरण लोकमार्गअन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ भँडारे खोलामा आज (बिहीबार) बिहान टाटा सुमो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ६४२१ नम्बरको टाटा सुमो आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको जानकारी प्रहरीले बिहान ८ः३० बजेतिर पाएको थियो । प्रहरीका अनुसार दुर्घटनामा परेर खोटाङको कोपिलासगढी गाउँपालिका–३ की ५६ वर्षीय मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र खोटाङकै दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार तारा गुरुङ मृतक मायाकी बहिनी हुन् । माया बिरामी थिइन् । बिरामी अवस्थाकी मायालाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर हिँडेको पाइएको प्रहरीले जनाएको छ ।
गाडी सडकबाट करिब सय मिटर तल खसेको थियो । दुर्घटनापछि सुमो चालक सुनसरीको इनरुवा नगरपालिका २ का २२ वर्षीय अनिल पण्डित फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट गाडीमा चालकसहित ४ जना मात्रै सवार रहेको पत्ता लागेको छ ।दुर्घटनामा परेर गाडी पूर्णरूपले क्षतिग्रस्त भएको छ । क्षतिग्रस्त गाडी अहिले घटनास्थलमै छ । चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।यद्यपि, प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । घटनास्थल जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाबाट करिब ३६ किलोमिटर दक्षिणमा पर्छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation