अछाममा दुई किशोरी हत्याकाण्ड प्रकरण प्रेम सम्बन्ध कारण पहिलो भेटमै हत्या

१९ माघ, धनगढी । अछामको ढकारी गाउँपालिका-१ का १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको छ ।

यही माघ ११ गते शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जंगलमा मृत भेटिएकी ढकारी गाउँपालिका-८ पल्साताकी दुुवै किशोरी (फूपुभदैनी नाता पर्ने) को ढुंगा प्रहारबाट हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ ।

जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरो सीआईबी, सुुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुुक्त टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरुको हत्या भएको खुुलेको हो । हत्या गरेको अभियोगमा ढकारी गाउँपालिका–३ तालीका दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिंदैछ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरीप्रसाद भण्डारीले हत्या घटनामा पक्राउ परेका दुवै जनालाई सार्वजनिक गरेर विस्तृत जानकारी दिइने बताएका छन् ।

पहिलो भेटमै हत्या

दुुई किशोरीको हत्याको प्रमुुख कारण प्रेम सम्बन्ध भएको प्रहरीले जनाएको छ । मृतक इशरा खड्का र पक्राउ परेका मध्येका बुढा थरका नाबालक किशोरबीच लामो समयदेखि टेलिफोनमा कुुराकानी हुुने गरेको थियो ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार उनीबीच टेलिफोनमा हुने संवादले प्रेम सम्बन्धसम्म पुर्‍याएको थियो । तर, भेट्ने मौका जुरेको थिएन । किशोरको गाउँ ढकारी गाउँपालिका–३ ताली र किशोरीहरुको ढकारी–८ पल्साता भौगोलिक रुपमा ढाका पर्ने भएका कारण पनि उनीहरुको भेट हुन सकेको थिएन ।

अछाममा माघ महिनामा विवाहित छोरीलाई उनकै घरमा पुगेर माइती पक्षले कोसेली दिने प्रचलन छ । बिहीबार तालीबाट पक्राउ परेका दुवै किशोर कोसेली लिएर फूपुुको घरमा पुुगेका थिए ।

फूपुको घर आएको मौकामा किशोरीसँग भेट्ने योजना बनाएर फोनमा कुरा गरी उनीहरु शुुक्रबार बिहानै फूपुको १० वर्षीय छोरालाई समेत लिएर छिन्ने जंगल पुगेका थिए ।

दिउँसो करिब साढे १२ बजेको समयमा उनीहरु भेट भयो । इशरा र उनीसँग टेलिफोन संवाद हुने राजेश (परिवर्तित नाम)ले चुन्नी(दोपट्टा) साटे । त्यसैबेला अर्का किशोर दिपेश (परिवर्तित नाम) इशरासँग आफ्नो पनि प्रेमिका भएको बताउँदै विवाद गरेका थिए । त्यसपछि भने इशरा र राजेश अलि टाढा गएर कुरा गर्छन ।

सरस्वतिले प्रेम प्रस्ताव अस्वीकार गरेपछि हत्या

राजेश र इशरा अलि टाढा गएपछि फूपु सरस्वतीसँग दिपेशको कुराकानी हुन्छ । कुुराकानीका क्रममा दिपेशले प्रेम प्रस्ताव राख्दै इशारा र राजेश जस्तै पछि विवाह गर्ने सर्तमा चुन्नी(दोपट्टा) साटासाट गर्न आग्रह गर्छन् । तर, सरस्वतीले उनको प्रस्ताव अस्वीकार गर्छिन् । प्रहरीलाई दिपेशले दिएको बयानअनुुसार प्रेम प्रस्ताव अस्वीकार गरेपछि उनले सरस्वतीलाई यौन सम्बन्ध राख्न प्रस्ताव गरेका थिए । दिपेशले जबरजस्ती गर्न खोजेपछि उनले प्र्रतिवाद गरिन् । त्यसपछि दिपेशले ढुंगाले हानेर सरस्वतिका निर्मम हत्या गरेको अनुसन्धान अधिकृतहरुले बताएका छन् ।

सरस्वतिको हत्या हुँदासम्म इशरा र राजेशले यो कुुरा थाहा पाएका थिएनन् । सरस्वतीले गरेको प्रतिवादले आक्रोशित भएर हत्या गरेका दिपेशले हत्या गरेको लुकाउने उद्देश्यले भवितव्य भएको देखाउन माथिबाट उनको शव भएको स्थानतिर ठूूलो ढुुंगा खसालेका थिए ।

इशराको पनि विभत्स हत्या

प्रहरीकाअनुसार ढुुंगा खसेको आवाज आएपछि इशरा र राजेश घटनास्थलमा पुगेका थिए । उनीहरुले त्यहाँ सरस्वतीको शव क्षतविक्षत अवस्थामा देखे । दिपेशले भीर माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको बताए । तर, इशराले पत्याइनन् र फूपु सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गरिदिने बताइन् ।

घटना बाहिर आउने डरले दिपेश र राजेशले इशराको पनि हत्या गर्ने आकस्मिक योजना बनाएको प्रहरीको अधिकृत बताउँछन् । त्यसपछि प्रेमी राजेश र दिपेश मिलेर इशराको पनि निर्मम हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार सरस्वतिको हत्या दिपेशले गरेका हुन् भने इशराको हत्या दुवैजनाको योजना अनुसार भएको प्रहरीले बताएको छ ।

घटना भवितव्य देखाउने प्रयास

प्रहरीका अनुसार दुवै किशोरीको हत्यापछि आत्तिएका किशोरले घटनालाई भवितव्य देखाउने उद्देश्यले भीर माथिबाट शव भएको स्थानतर्फ ढुंगा खसालेको पाइएको छ ।

हत्यापछि १५ मिटरको दूरीमा तलमाथि सरस्वती र इशराको शव राखेका उनीहरुले सोही स्थानतिर माथिबाट ठूलासाना गरेर दर्जनौँ ढुंगा खसालेका छन् । एकैपटक सोही ठाउँमा धेरै ढुंगा कसरी खसे ? भन्ने कोणबाट प्रहरीले प्रारम्भिक अनुुसन्धान अघि बढाएको थियो ।

तीन जनाले भीर माथिबाट ढुंगा खसालिरहेको प्रत्यक्षदर्शीको बयानका आधारमा प्रहरीको अनुसन्धानले गति लियो । त्यो दिन घटनास्थल वरपर देखिएका मानिसहरुमाथि केरकार गर्ने क्रममा प्रहरीले दुुवै जना किशोरलाई पनि नियन्त्रणमा लिएको थियो ।

गाउँबाट भाग्ने योजना बनाइरहेको अवस्थामा प्रहरीले आइतबार राति उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये १० वर्षीय नाबालक अनुसन्धानमा सघाएका कारण उनलाई सरकारी साक्षी राखिएको छ । अन्य दुुई जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुुद्दा दर्ता गरेर थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ।अनलाइन खबर बाट ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation