
देशका दक्ष युवा जति विदेशिँदै गए
सिपयुक्त उद्यमी सबै पलायन भए ॥
विकास विकास भनी सबलाई भन्न सजिलो हुने
यस्तो अवस्था देशको देख्दा मन साह्रै रुने ॥
विदेशमा भन्छन् सबै कमाई हुन्छ राम्रो
नेपालमा रोजगार दिन सक्ने सरकार हैन हाम्रो ॥
त्यसैले त दिनप्रतिदिन युवा विदेशीले गए
अब १० वर्षमा युवाविहीन नेपाल हुन्छ यस्तै भए ॥
नेपालमा छैन राम्रो कमाइपर्छ बाहिर जान
नेपालको जागिरले पुग्दैन भन्छन् बिहान बेलुका खान ॥
नेपालका भ्रष्टहरू चढ्छन् यहाँ महंगा र चिल्ला गाडी
गरिबका छोराछोरी जान्छन् पैसा कमाउन खाडी ॥
देशमै केही गर भनी भाषण नानाथरिका
नेताहरूकै छोराछोरी छन् अस्ट्रेलिया अमेरिका ॥
भएको छैन देशको स्रोतसाधनको उपयोग
देशमै केही गर्छु भन्नेलाई गर्दिनन् है सहयोग ॥
देशमै केही गर्छु भन्नेले वर्षमा दुई लाख कमायो
दुई वर्ष विदेश बसेको साथीले तीनतल्ले घर बनायो ॥
यस्तै अवस्था भएर नै विदेशिनु मनलाग्ने
कहिले होला हाम्रो यो निदाएको सरकार जाग्ने ॥
बिरामी पर्दा मर्दा यहाँ बोक्ने मान्छे हुन्न
ठुलाबडा धनीहरूले त्यो गरिबलाई छुन्न ॥
कसरी रोक्ने युवालाई देशमै केही गर भनी
यस्तै अवस्था नेपालमा भए विदेशिन्छु म नि ॥
✍️: मान्यता गिरी
(अखिल छैठौँ भानुभक्त मा.वि इकाई समिति कोषाध्यक्ष)