काठमाडौं मःम पसलमा विस्फोट हुंदा मृत्यु हुनेको संख्या चार , १४ जना घाइते

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा रहेको काठमाडौं जिल्ला परिसरले जनाएको छ । उनको गएराति करिब पौने १२ बजेको समयमा मृत्यु भएको हो ।

योसँगै उक्त ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि शुक्रबार उपचाररत उदयपुरको उदयपुरगढी–७ घर भइ हाल काठमाडौं बस्दै आएका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो । उक्त विस्फोटमा परी १४ जना घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते भएका ११ जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो ।

घाइतेमध्ये दुई जनाको गत सोमबार निधन भइसकेको छ । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा यसअघि नै मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation