
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले अमेरिकामा लुकीछिपी बसेका नेपाली नागरिकलाई नेपाल फिर्ता ल्याउन आग्रह गर्नुभएको छ ।
२०८१ फागुन ४ गते आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा लिखित मन्तव्य राख्दै उहाँले सो आग्रह गर्नुभएको हो ।
अहिले भारतीय नागरिकलाई नेल, जन्जिर र हत्कडी लगाएर अमेरिकाबाट फिर्ता ल्याइएको प्रसङ्ग अगाडि सार्दै उहाँले नेपाली नागरिकहरू पनि गैरकानुनी प्रकारले बसेको भए अहिले नै स्वदेश फिर्तीका लागि पहल गर्न आग्रह गर्नुभयो ।
अमेरिकाले विदेशी नागरिकलाई नेल, जन्जिर हत्कडी लगाएर फिर्ता पठाउनु मर्यादाको घोर उल्लङ्घन तथा मानवअधिकारको धज्जी उडाउने कार्य भएको उहाँको ठहर थियो ।
यस्तो छ, अध्यक्ष केसीद्वारा वाचित मन्तव्य :
“विश्वको जुनसुकै कुनामा बसेको भए पनि बिनाभेदभाव समानता, स्वतन्त्रता र मानवीय मर्यादाको अधिकार सबै नागरिकले उपयोग गर्न पाउनुपर्ने मानवअधिकारको विश्वव्यापी घोषणापत्रको आधारभूत भावना हो । अमेरिकाले भारतीय नागरिकलाई हातखुट्टामा नेल, जन्जिर र हत्कडी लगाएर उनीहरूको मर्यादाको ठाडो उल्लङ्घन गरेर स्वदेश फिर्ता (डिपोर्ट) गर्ने कार्यले पश्चिमाले दुहाइ दिँदै आएको मानवअधिकारको विश्वव्यापी रूपमै धज्जी उडेको छ ।
भारतीय नागरिकलाई नेल, हत्कडी र जन्जिर लगाउनु अमेरिकाको घोर अमानवीय र मानवअधिकार विरोधी हरकत हो । नेपालका पनि सयौँ नागरिक गैरकानुनी रूपमा अमेरिकामा लुकिछिपी बसोबास गरिरहेका समाचार आइरहेका छन् । नेपाली नागरिकलाई पनि मानवअधिकार हनन् हुने गरी अमेरिकाद्वारा नेल, हत्कडी र जन्जिर लगाएर अमानवीय तरिकाबाट फिर्ता पठाउने कार्य नहोस् भनेर अहिलेदेखि नै सचेत हुनुपर्ने आवश्यकता छ । यदि यो विषयमा ध्यान नदिइएमा विश्व समुदायका बिच नेपालको प्रतिष्ठामा समेत आँच पुग्न सक्दछ । त्यसैले यदि अमेरिकामा गैरकानुनी तबरबाट नेपाली नागरिक लुकिछिपी बसेका छन् भने नेपाल फिर्तीका लागि आवश्यक व्यवस्था मिलाउन सम्माननीय सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउँछु