बुटवल, फागुन १० गते । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको १ सय १५ औं स्थापना दिवस मनाउंदै छ । स्थापना दिवसको अबसरमा आयोजित साप्ताहव्यापी कार्यक्रम अन्तरगत शनिबार फुटबल तथा भलिबल प्रतियोगिताहरु सम्पन्न भए ।

बुटवलको प्रहरी तालिम केन्द्रको खेल मैदानमा सम्पन्न फुटबल प्रतियोगिताको उपाधि चिकित्सक समुहले जितेको छ, भने भलिबल प्रतियोगिताको उपाधि प्रशासन समुहले जित्न सफल भएको छ ।

फुटबल प्रतियोगितामा चिकित्सक समुहले प्रशासन समुहलाई ५–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो । जितका लागि चिकित्सक समुहका डा. विनय केसी र डा. सुरज केसीले २–२ गोल गरेका थिए, भने डा. उत्सव रेग्मीले १ गोल गरेका थिए । यसैगरी भलिबलमा प्रशासन समुहले प्रयोगशाला समुहलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्माचारीबीच विभिन्न समूहमा भएका खेलबाट चिकित्सक र प्रशासन समूह फाइनल प्रवेश गरेका हुन् ।

रेफ्रीलाई बल हस्तान्तरण गर्दै लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, सदस्य लक्ष्मी भट्टराई तथा मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले शुभकामना दिएका थिए ।

स्थापना दिवसका अवसरमा यसअघि सम्पन्न क्रिकेट प्रतियोगितामा चिकित्सक समुहले प्रशासन समुहलाई पराजित गरेको थियो । अतिरिक्त क्रियाकलाप अन्तरगत अस्पतालमा फलफुल वितरण तथा म्याराथन प्रतियोगिता समेत गरिने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राजन केसीले जानकारी दिए । १ सय १५ औँ स्थापना दिवसको अवसरमा ११५ जनाबाट रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको उनले जानकारी दिए ।

पत्रकारसँगको फुटबल प्रतियोगितमा अस्पताल विजयी

लुम्बिनी प्रादेशिक अस्पताल र नेपाल पत्रकार महासंघ रुपन्देही शाखाबीच भएको फुटबल प्रतियोगितामा अस्पताल विजयी भएको छ । अस्पताल समुहले पत्रकार समुहलाई ३–० गोलको अन्तरले पराजित गरेको थियो ।

जितका लागि अस्पतालको तर्फबाट खेलको पहिलो हाफमा ऋषिराम चौधरीले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । यसैगरी संजय गोदारले थप एक गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । खेलको सुरुवातदेखिनै हाबी देखिएको अस्पताल समुहका लागि दोस्रो हाफमा बिनय केसीले थप एक गोल गरेका थिए ।

अस्पतालले यहीँ फागुन १५ गते मूल समारोहको आयोजना गरी स्थापना दिवस मनाउने तयारी गरेको छ ।
स्थापना दिवसमा आफ्ना गतिविधिसहितको “जीवक–३“ नामक स्मारिका पुस्तक प्रकाशन गर्ने अस्पतालले बताएको छ ।