नवलपरासीको पश्चिम बेलासपुर तनावग्रस्त, केटीका दाइले गाडीले हान्दा एकको मृत्यु

१३ फागुन, नवलपरासी । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको तनावले एकजनाको ज्यान लिएको छ ।

बेलापुरस्थित १९ वर्षीया सहाना खातुनलाई सोही ठाउँका २२ वर्षीय डाक्टर धोबीले भगाएको विषयको विवादमा एकजनाले ज्यान गुमाएका हुन् ।

प्रहरीका अनुसार विवाद बढ्दै जाँदा केटीका दाईले अर्को पक्षलाई लक्षित गरी पिकअप गाडीले ठक्कर दिएका थिए । त्यसक्रममा दुईजना घाइते भएकोमा उपचारको क्रममा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

पिकअप भ्यानले ठक्कर दिएपछि आक्रोशित केटा पक्षले केटीको दाइको कवाडी गोदाममा आगो लगाइदिएका थिए । त्यसपछि केटीपक्षका करिब चार सय स्थानीय जम्मा भई टायर बालेर महेशपुर–परासी सडकखण्ड सडक अवरुद्ध बनाएका थिए ।

सोही समूहले इलाका प्रहरी कार्यालय महेशपुरको एउटा गाडी जलाएको थियो ।
स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले केही सेल अश्रु ग्याँस फायर गरेको थियो । स्थिति नियन्त्रणबाहिर जान थालेपछि सशस्त्र प्रहरीको प्र.सी.सु. गुल्म हरपुरबाट ६३ जना सुरक्षाकर्मी परिचालिन गरिएको थियो ।

कवाडी पसलको आगो रामग्राम नगरपालिकाको दमकलको सहयोगले निभाइएको डीएसपी थापाले जानकारी दिए । घटनामा सशस्त्र प्रहरीका तीनजना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation