बुटवल, फागुन १५ गते । देशभरका मगर समूदायले फागुन १५ गते अर्थात आज बिहीबार ४३ औं मगर दिवस मनाएका छन् । आफ्ना परापूर्वकालदेखिका कला संसकृति झल्कने खालका भेषभुषा तथा मगर पहिरनमा खुशीयालीका साथ मगर दिवस मनाईएको छ ।
रुपन्देहीको बुटवलमा नेपाल मगर संघ बुटवलको आयोजनामा ४३ औं मगर दिवस मनाईएको छ ।

मगर दिवसको अवसरमा बुटवलमा पांच दिवसीय कार्यक्रमको आयोजना गरी फागुन १५ गते अर्थात आज बिहीबार विशेष कार्यक्रमको आयोजना मगर दिवस मनाईएको हो । बुटवलको दिपनगरमा रहेको मगर समूदायको बाजेबजै थानमा दिवस मनाईएको थियो । मगर दिवस मूल समारोहको पूर्व सनध्यामा बुटवलको राजमार्ग चौराहाबाट मगर संस्कृति झल्कने खालको झांकीसहितको र्याली निकालिएको थियो । बजार परिकर्मापछि दिपनगरमा पुगेर दिवस मनाईएको हो ।

उक्त मगर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष गिता सारु मगरले मगर समूदायको भाषा, धर्म र संस्कृति संरक्षण गर्ने दायित्व राज्यको भएको बताइन । उनले राज्यले नेपाल मगर संघका मागहरुलाई सम्बोधन नगरेर विभेद गरेको बताउंदे राज्य निरही बन्दा हाम्रा भाषा, संस्कृति ओझेलमा परेको बताइन ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मगर समूदायका भाषा, धर्म, संस्कृति र भेषभुषा संरक्षणका लागि स्थानीय सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्दता जनाए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, नेपाल मगर संघ लुम्बिनी प्रदेश उपाध्यक्ष जनक थापामगर, बुटवल वडा नम्बर १९ का वडाध्यक्ष चन्द्रसिहं थापा, गोपाल राना, ताराप्रसाद थापा मगर लगायतले बोल्दै मगर समूदायका भाषा, संस्कृति संरक्षण गरिनु पर्नेमा जोड दिए ।

बुटवल मगर संघका नगर अध्यक्ष बसन्ती साठिघरेमगरको अध्यक्षता, उपाध्यक्ष लुमबहादुर सारु मगरको स्वागत र हेमन्त सारु मगरको सञ्चालनमा कार्यक्रम भएको थियो ।