
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावलाई लिएर विद्यार्थीहरू तोडफोडमा उत्रिएका हुन्। निर्वाचनको विषयमा विद्यार्थी संगठनहरूबीच बैठक चलिरहेको बेला क्याम्पसको हलमा तोडफोड भएको क्याम्पसले जनाएको छ।
आगामी चैत ५ गते क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ। त्यसैका लागि सोमबार देशभरका क्याम्पसहरूमा विद्यार्थी संगठनहरूले नाम दर्ता गरिरहेका छन्। तर, भैरहवा बहुमुखी क्याम्पसमा भने ५ विद्यार्थी संगठनहरूले आइतबार साँझ नै स्ववियु निर्वाचन कार्यकक्षमा तालाबन्दी गरेका थिए।
समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेस विद्यार्थी युनियनले विभिन्न माग राखी क्याम्पसमा रहेको निर्वाचन आयोगको कार्यकक्षमा तालाबन्दी गरेका थिए।
तालाबन्दी भइरहेको अवस्थामा निर्वाचन तालिकाअनुसार निर्वाचन आयोगले आफ्नो प्रक्रिया अगाडि बढाउने भन्दै सोमबार ५ विद्यार्थी संगठनसँग बैठक बसेको थियो।
सोही क्रममा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु चुनावका लागि संगठन दर्ता गर्न बाजागाजासहित क्याम्पसमा प्रवेश गरेपछि पाँच विद्यार्थी संगठन तोडफोडमा उत्रिएका हुन्।