प्राप्त राजनीतिक अधिकारको रक्षा, गर्ने जिम्मेवारी माओवादीको हो:प्रचण्ड

कैलाली  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको नेतृत्व र लाखौं जनताको रगत पसिनाबाट प्राप्त राजनीतिक अधिकारको रक्षा, प्रयोग र विकास गर्ने जिम्मेवारी पनि माओवादीकै भएको बताएका छन् । कैलालीको टीकापुरमा आजदेखि सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको छ, यसले उत्पीडित समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गरेको छ’– अध्यक्ष प्रचण्डले भने-  ‘अहिले आएर संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वजस्ता उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने कुचेष्टा हुँदैछ । भ्रष्ट र दलालहरु विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेका छन्, त्यस्तो सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो, यसमा हामी कतै बिचलित हुने छैनौं, दृढ प्रतिबद्धताका साथ अघि बढ्ने छौँ ।

जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलोपटक धारणा स्पष्ट गरेको पनि उनले जानकारी दिए । ‘हिजो जनवादी क्रान्तिको बेलामा आत्मनिर्णयको अधिकार, जातीय क्षेत्रीय मोर्चाको अवधारणा महत्वपूर्ण थियो तर अब समाजवादी क्रान्तिमा यसमा महत्व छ कि छैन भन्ने केही समय अलमल जस्तो देखियो’ अध्यक्ष प्रचण्डले भने– ‘हाम्रो भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको बेलामा यो अझ बढी आवश्यक छ भन्ने निष्कर्ष निकालेको छ । अब हामीले निष्कृय रहेका मोर्चाहरुलाई समेत ब्यूँताउँदै सबै जातीय क्षेत्रीय मोर्चालाई सुदृढ बनाएर जाने नीति लिएका छौं, अब क्रमशः भेला सम्मेलनमार्फत सबै मोर्चाहरु सक्रिय बनाउने छौँ ।’

हिजो जातीय क्षेत्रीय मोर्चामार्फत संघर्षलाई संगठित नगरेको भए जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्रमा फड्को मार्ने स्थिति बन्ने संभावना नरहेको स्पष्ट गर्दै उनले थारु समुदायलगायत नेपालका सबै जातीय क्षेत्रीय मोर्चाहरुले संघर्षमा ऐतिहासिक र बलिदानीपूर्ण महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । जनयुद्धमा सबैभन्दा धेरै बेपत्ता पारिने बर्दिया जिल्लाका नागरिक रहेको संयुक्त राष्ट्रसंघको तथ्यांकमा समेत उल्लेख गर्दै उनले नेपालको राजनीतिक परिवर्तनमा थारु समुदायले ऐतिहासिक बलिदानी गरेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation