
पाल्पा – कालीगण्डकी कोरिडोर अन्तर्गत राम्दी–दर्पुक–रानीमहल सडकखण्डमा काम गर्ने दुई जना मजदुरको मृत्यु भएको छ । दुबैजनाको शव पाल्पाको बगनासकाली–६, यम्घा माइचउरस्थित कालीगण्डकी नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
कालीगण्डकी कोरिडोर अन्तर्गतको सडकमा डोजर अपरेटरको रुपमा कार्यरत सिन्धुली गोलाचउर–६ का २६ वर्षीय भोजराज अस्लामीमगर हराएको छ दिनपछि नदी किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो ।
यस्तै सो सडकखण्डमा मजदुरको रुपमा कार्यरत दाङ् जिल्ला तुल्सीपुर उपमहानगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर रास्कोटीको शव पनि नदी किनारमा फेला परेको छ । फागुन २९ गते नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका रास्कोटीको तीन दिनपछि शव फेला परेको प्रहरीले जनाएको छ । रास्कोटीको शव नुहाउने स्थानदेखि २०० मिटर तल फेला परेको हो ।