काठमाडौं – नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो । नवनियुक्त प्रहरी प्रमुख थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरिरहेका थिए ।
प्रहरी नियमावली, २०१२ मा सरकारले उपयुक्त देखेका उम्मेदवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सक्ने उल्लेख छ । प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए । त्यही कारण प्रहरी प्रमुख बन्नका लागि बढुवाको अन्तिम समयसम्म आकांक्षीहरुबीच राजनीतिक समर्थन जुटाउन दौडधुप चल्ने गर्छ । यसपटक पनि तिनै जना आकांक्षीले अन्तिम समयसम्म आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरेका थिए । यद्यपि, सरकारले पहिलो वरियतामा रहेका थापालाई नै आईजीपी बनाएको छ।