अहँ म वस्दिन बा

 

ध्रुब गिरी

उपाध्यक्ष प्रलेस लुिम्बनी प्रदेश

 अहँ म वस्दिन बा

मेरो देशमा नैतिकता हरायो

उर्लियो भ्रष्टाचार, न्याय मरिसक्यो

चुलियो घुस र कमिसन

त्यसैले म बस्दिन बा ।

 

     पल्लाघरे रामे दाइ मास्टर भए

     खै के पाए ? न त गर्नै सके उपचार बिचरा छोराको

     न पुरा गरे भाउजुका रहर न भतिजोका चाहना

     ठूलो गाँउको डममरे खरदार त बने

     सकेनन आफ्नै बाबुको अप्रेसनको खर्च पूरा गर्न

     न त सके आफ्नी आमाको चोलि फेर्न

     त्यसैले त म वस्दिन बा ।।

मदनमोहन अमेरिका गए

काठमाण्डौमा अलिशान बनाए महल

काले पण्डित पनि कोरिया गएर

हिड्छन् त एक करोडको गाडी चढेर

फुर्सेले खोरियामै हलो फालेर मलेशिया गएर

पठाइसके लाखौँ लाख पैसा

६० लाख खर्च गरेर डाक्टर पास गरेकी हाम्री दिदी

आज एउटा ल्यापटप किन्न नसकेर

हेर्नुस त तपाइँको पेन्सन कुरेर बस्नु परेको

त्यसैले त म वस्दिन बा ।।।

 

     धन त हातका मैला भन्नुहुन्छ बा

     धन विना न भाइले नै पढन पाउछ

     न त आमाको प्रेशरको औषधी नै आउछ

     छिमेकीको भान्साबाट मासुको गन्धले

     कति पटक मासुको स्वाद मेटाएको छुँ

     आदर्शले मात्रै हाम्रा रहर पूरा भएनन्

     पहिलो भएनन रोजगारी

     दोस्रो भएपनि आवश्यकता पूरा नगर्ने तलव

     त्यसैले त म वस्दिन बा ।।।। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation