इलामका अकबरे किसान मदन राईले गरे अकबरे -क्रान्ति

रुपन्देही

हरेक बिहान झिसमिसमै गाईवस्तुुलाई खोले उमाल्ने र तिनकै गोबर सोहोर्ने कार्यबाट सुरु हुन्छ सूूर्योदय नगरपालिका–१२ आठघरेका किसान मदन राईको दैनिकी । प्रायः सबै किसान गाईवस्तु पाल्छन् । घाँसखोले जोह गर्छन् । अनि गोबर पनि सोर्छन् । तर, राईको दैनिकी गाईवस्तुको गोठमा मात्र सीमित छैन ।

उनी बिहान गाईगोठबाट निस्केपछि कृषि पेसामा भिडछन् । गाईगोठको धन्दा सकेर उनी दशकदेखि व्यावसायिक अकबरे खोर्सानी खेतीमा आफ्ना नङग्रा खियाउँदैछन् । त्यही नङग्रा खियाइले यसबेला उनको पहिचान व्यावसायिक अकबरे खेतीका सफल किसानमात्र नभएर सिंगो जिल्लाका किसानका लागि प्रेरणाको स्रोतका रूपमा पनि छ ।

कृषिमा पाँच ‘अ’ अकबरे, अलैंची, अदुवा, ओलन र अम्लिसो उत्पादनका लागि पूर्वको पर्यटकीय जिल्ला इलामले ख्याति कमाइसकेको छ । पछिल्लो समय अकबरे खोर्सानी किसानका लागि आय–आर्जनको बलियो माध्यम बन्दा आन्तरिक र बाहय पर्यटकका लागि मनपसन्द कोसेली बनेको छ । इलाम पुगेर फर्किने जो–कोही पर्यटकको हातमा अकबरेको पोको झुन्डिएको सहज रूपमा देख्न सकिन्छ । त्यतिमात्र होइन, अकबरे विदेशतर्फ पनि निर्यात भएर विदेशी मुद्रा आर्जनको स्रोत बन्दैआएको छ ।

कुनैपनि किसान नगदेबालीबाट वर्षमा ५ देखि १० लाख रुपैयाँ कमाउनुलाई गतिलो आम्दानी ठान्छन् । तर, मदन राईले अकबरे खोर्सानीवाट मात्र वार्षिक सरदर २३ लाख रुपैयाँसम्म आम्दानी गर्दैछन् । उनी जिल्लामा अकबरे खोर्सानी उत्पादन गर्ने अगुवा किसानमध्ये एक हुन् ।

मदनलाई यो कर्मका लागि पत्नी चन्द्रकलाको ठूलो भरथेग छ । यी दम्पती बिहान गाईगोठबाट निस्केर साँझ हुँदासम्म अकबरे बारीमै पाखुरा बर्जादैगरेको अवस्थामा भेटिन्छन् ।

अकबरेबाट गतवर्ष २३ लाख रुपैयाँ आम्दानी भएको राईले सुनाए । यो आम्दानी करिब १० रोपनी क्षेत्रफलमा लगाइएको अकबरेको बिरुवा, फल, बियाँ (बीउ) विक्रीको हो । गतवर्ष ७ लाखको अकबरे दाना, १६ लाखको बियाँ विक्री भएको राईले उत्साहित हुँदै बताए । ‘घरबाटै विक्री भएको बिरुवा, दाना र बियाँको हिसाब उनीसँग छैन । उनले भने, ‘त्यो करिब दुई लाखको हुन आउँछ । उनको उत्पादन प्रायः बारीबाटै विक्री हुन्छ ।

इलाममा अकबरे खोर्सानीको व्यावसायिक खेती गर्ने किसानमा राई एक उदाहरणपात्र मात्र हुन् । पछिल्लो समय इलाममा अकबरे खोर्सानीको व्यावसायिक खेती गर्ने किसानको लहर नै चलेको छ । अचार, तरकारी र धुलोका रूपमा प्रयोग हुने अकबरेको बिरुवा, बियाँ र दाना घरबाटै विक्री हुनेगरेको छ । यातायातको सुविधा पुग्दैगएपछि किसानलाई अकबरे विक्री गर्न सहज हुँदैगर्दा किसानको अकबरेमोह बढ्दो छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation