प्यूठान पुजाको तामा खानी

ज्ञामुराम न्यौपाने ,

पुजाको तामा खानी:
१९ औँ शताब्दीमा राणाहरूको मुख्य आम्दानीको स्रोतहरूमध्ये बाग्लुङमा रहेका २२ खानेमध्ये पूजाको तामाखानी पनि एक रहेको थियो। झण्डै सय वर्षसम्म पूजाको जारगाउँमा आग्री, रोका तथा विकहरूले तामाखानी उत्खनन गरेको इतिहास रहेको छ । त्यतिबेला अहिले जस्तो टर्चलाइट वा प्रकाशको व्यवस्था थिएन। निगालो बालेर कानमा घुसारेर नै खानीमा मजदुरहरूले काम गरेका थिए। यतिबेला खानी उत्खनन गर्नु ज्यानको बाजी थाप्नु सरह थियो। तर राणा शासनको अगाडि को बोल्ने ?
निकै कठिनाइपूर्वक उत्खनन गरिएको तामाको धाउ परम्परागत आफर लगाएर जारगाउँकै कोटगाउँ, कदमचाल जस्ता ठाउँहरू र पूजा बीचगाउँमा रहेको टोमटाहरूको सामूहिक आरनमा प्रशोधन गर्ने गरिन्थ्यो। वार्षिक रूपमा राणा शासनको लागि २५ धार्नी तामाको तिरो (तत्कालीन भाषामा “भेजा”) तोकिएको बताइन्छ। कतिपय बुढापाकाहरूले प्रतिघर सात धार्नी तामाको तिरो थियो भन्नुहुन्छ। निर्धारित तामो बोकेर स्थानियहरु बाग्लुङ अड्डामा बुझाउन जानुपर्थ्यो।
सो तमाखानीमा ३०० मिटर परसम्म पुगेका शाखा प्रशाखा सुरुङहरू पन्ध्र वटा जति रहेका छन् । हामी खानी भित्र गयौं भने तामा उत्खनन गरेका घोर अन्धकार सुरुङहरु देख्न सक्छौं। खानी उत्खनन गर्ने काम ज्यादै जोखिमपूर्ण कार्य थियो। खानी भित्र सुरुङ भत्केर विसं १९७० मा एकैचोटि २२ जना मजदुरहरुले ज्यान गुमाएका थिए। खानी उत्खनन गर्ने ती मजदुरहरूको सब अझै पनि खानीभित्रै अड्किएको कुरा स्थानीय ठाडेमेला लालबहादुर सुनार बताउनु हुन्छ । यो घटनाको कारण राणाहरू खानी नै बन्द गर्न बाध्य भएका थिए। त्यतिबेलाको कमजोर प्रविधिबाट पनि पुर्खाहरूले आफ्नो ज्यानको बाजी थापेर जोखिमपूर्ण खानी सञ्चालन गरेका थिए । हाम्रा पुर्खाहरूको त्यो बाध्यताको इतिहास सम्झँदा हामीलाई चिन्ता लागेर आउँछ। जारगाउँको तामाखानी सञ्चालनको लागि कोट बनाएर राज्यको प्रतिनिधि खटाइएको थियो। जसलाई स्थानीयहरू खानीको राजा भन्दथे। हाल पनि जारगाउँमा कोटगाउँ भन्ने स्थान रहेको छ। जहाँ खानीको राजा बसेको बताइन्छ।
पूजाको तामाखानी पुग्नको लागि मोटर बाटोको पनि व्यवस्था छ। खानी भन्दा एक किमी तल पल्लो बाग्लीबाङ सम्म मोटरबाट पुगेको छ।

खानीमा एकैपटक ज्यान गुमाएका २२ मजदुरको स्मृतिमा तामाखानी नजिक स्मारक निर्माण गरेमा त्यसले हाम्रो इतिहासको रक्षा र पर्यटनमा मद्दत पुर्याउनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation