नारी दिवसमा सिद्धार्थ पाठशालाद्वारा स्वास्थ्य स्वयंसेविका सम्मानित

भैरहवा, फागुन २४
सिद्धार्थ पाठशाला सिद्धार्थनगर ८ भैरहवा रुपन्देहीले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सम्मान गरेको छ ।
सिद्धार्थ पाठशालाका कार्यकारी निर्देशक दिनेश बस्यालको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यतामा आज आइतबार एक कार्यक्रमका बिच स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो ।

कार्यक्रमको बोल्दै प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले समुदायको स्वास्थ्य प्रवद्र्धन र जनचेतना अभिवृद्धिमा पु¥याएको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले स्वास्थ्य स्वयंसेविकाहरूले गाउँ–टोलका नागरिकलाई स्वास्थ्यसम्बन्धी सचेतना दिने, गर्भवती तथा सुत्केरी महिलाको नियमित निगरानी गर्ने, बालबालिकाको खोप तथा पोषण अवस्थाबारे जानकारी गराउने जस्ता काममार्फत समाजमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले सीमित स्रोतसाधन र चुनौतीका बाबजुद पनि स्वयंसेविकाहरूले निरन्तर समुदायको हितका लागि सेवा दिँदै आएको भन्दै उनीहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो । “समुदायको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका आधारस्तम्भ जस्तै हो,” उहाँले भन्नुभयो, “उहाँहरूले दिएको सेवा र समर्पणले समाजलाई स्वस्थ र सचेत बनाउने काम गरिरहेको छ ।”

उपप्रमुख अधिकारीले महिला सशक्तिकरणको दृष्टिकोणबाट पनि स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै यस्ता सम्मान तथा प्रेरणादायी कार्यक्रमहरूले महिलाहरूको मनोबल बढाउने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारले पनि स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि तथा प्रोत्साहनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । साथै, आगामी दिनमा स्वास्थ्य क्षेत्रको सुदृढीकरण तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धिका लागि नगरपालिका निरन्तर सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै गरी कार्यक्रमका बोल्दै बिद्यालयका कार्यकारी निर्देशक दिनेश बस्यालले स्वास्थ्य स्वयंसेविकाहरूको निःस्वार्थ सेवाको प्रशंसा गर्दै, भविष्यमा यस प्रकारका कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाले सिद्धार्थ पाठशालाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्वास्थ्य स्वयंसेविकाहरुलाई पहिलो पटक सम्मान गर्न पाउदा आफुहरुलाई खुसी लागेको बताउनु भयो । उहाले यस बिद्यालयले सिद्धार्थनगर नगरपालिकाका बालबालिकाहरुलाई गुणस्तरी शिक्षा प्रदान गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । उहाले प्रतिस्पर्धाको समयमा नया तरिकाबाट बिद्यार्थीहरुलाई पठन पाठन गराउदै आएको यस सिद्धार्थ पाठशालाले आधुनिक कक्षा कोठा संगै बिद्यार्थीको सिकाइमा नया तरिका र प्रबिधिबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जोड दिनु भयो ।

कार्यक्रममा विद्यालयकी संयोजक अनिता त्रिपाठीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले समुदायको स्वास्थ्य सुधारमा पु¥याएको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विभिन्न स्वास्थ्यसम्बन्धी जानकारी प्रदान गर्ने काममा स्वयंसेविकाहरूले निःस्वार्थ रूपमा सेवा गर्दै आएको उल्लेख गर्नुभयो ।

त्रिपाठीले आगामी दिनमा पनि विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा तथा महिला सशक्तिकरणसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सरोकार वाला ब्यक्तित्व, अभिभावक , शिक्षक , सिद्धार्थ पाठशालाका उपाध्यक्ष शेराज खान, शिक्षकहरु कुसुम चौधरी, सपना चौधरी, मिस म्यारी, सिवानी लगायत सिनपा ८ का स्वास्थ्य स्वयमसेबिकाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation