चुनावी हार र कम्युनिस्ट आन्दोलनको वास्तविकता

कम्युनिस्ट पार्टी र राजनीति चुनावपछि फेरि चर्चाको विषय बनेको छ। भारतको पश्चिम बंगालमा ज्योति बसुको सत्ता ढलेपछि कम्युनिस्ट आन्दोलन उठ्नै नसकेको जस्तो चित्र प्रस्तुत गरियो। त्यसैलाई मुद्दा बनाएर भारतीय मिडियाले कम्युनिस्ट राजनीति ढलेको र समाप्त भएको ठूलो हौवा मच्चायो। वास्तवमा न ज्योति बसु वास्तविक कम्युनिस्ट थिए, न त उनको पार्टी सच्चा कम्युनिस्ट पार्टी नै थियो।

अहिले नेपालमा पनि त्यस्तै अवस्था देखिएको छ। एमाले र माओवादी जस्ता ठूला पार्टीहरू, जसलाई पहिले कम्युनिस्ट भनेर चिनाइन्थ्यो, २०८२ फागुन २१ को निर्वाचनपछि ज्योति बसुको अवस्थाभन्दा पनि खराब अवस्थामा पुगेका छन्। तर यहाँ पनि केही मिडियाले ठूलो शक्ति लगाएर कम्युनिस्ट राजनीति नै सकिएको भन्ने हौवा खडा गरिरहेका छन्। वास्तवमा न केपी शर्मा ओली कम्युनिस्ट हुन्, न पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै। तिनको राजनीति पनि कम्युनिस्ट होइन।
यी शक्तिहरू मूलतः संशोधनवादी धारका अवसरवादी पुँजीवादी शक्तिहरू हुन्। एनजिओ र आइएनजिओ चलाउने तथा संरक्षण गर्ने शक्तिकेन्द्रका रूपमा पनि तिनलाई हेरिएको छ। सामान्यतः पुँजीवादी संसदीय पार्टी कांग्रेसले गरेको सुधारवादी कामजत्तिकै काम पनि उनीहरूले गर्न सकेनन्। बरु भ्रष्टाचार, कालोबजारी, महँगी, लुट, हत्या–हिंसा, जघन्य बलात्कार तथा नोकरशाही, माफिया र दलालहरूको संरक्षण गर्दै ३६ वर्षसम्म देशलाई बन्धक बनाएर खोक्रो बनाउने काम गरे।

यसको परिणामस्वरूप, जेनेरेसन ‘जेन–जी’ को नाममा वा त्यसलाई बहाना बनाएर भए पनि जनताको आक्रोश विस्फोट भयो। दुई तिहाइको शक्तिशाली सरकार पनि केही समयमै ढल्यो। त्यस समयमा ज्यान जोगाउन हेलिकप्टर चढेर भागेको दृश्य पनि देखियो। पछि केपी ओलीले आफू भागेको होइन, बच्चाहरू खुशी हुन्छन् भनेर ‘भागेजस्तो गरेको’ भनेर जेन–जी आन्दोलनको मजाक उडाए।

त्यसै समयमा कुटाइ खाएका शेरबहादुर देउवाले भने आफू बच्चाहरू खुशी हुन्छन् भनेर कुटाइ खाएको जस्तो गरेको हुँ भनेनन्, बरु उपचारका लागि सिंगापुर पुगे। यहाँ स्मरणयोग्य कुरा के छ भने, पाँच–पाँच पटक प्रधानमन्त्री भएका नेताहरूले सामान्य उपचार गर्न सक्ने स्तरको एउटा अस्पताल पनि देशमा बनाउन सकेनन्। दश वर्षमै नेपाललाई सिंगापुर बनाउँछौं भन्नेहरू ३६ वर्षसम्म पालैपालो सत्ता चलाएर देशलाई यस्तो अवस्थामा पुर्‍याए कि कुटाइ खाँदा उपचार गर्न पनि सिंगापुर पुग्नुपर्‍यो।

एक भारतीय राजनीतिक विश्लेषकले भनेका थिए— “नेपालमा कम्युनिस्ट नै छैनन्। यदि वास्तविक कम्युनिस्ट सरकारमा भएको भए नेपालले विकासमा ठूलो फड्को मारिसकेको हुन्थ्यो।”

त्यसैले एमाले, माओवादी वा ओली–प्रचण्डको चुनावी हारलाई कम्युनिस्ट आन्दोलनको हार ठान्नु गलत हुनेछ। किनकि उनीहरू वास्तविक कम्युनिस्ट थिएनन् र छैनन् पनि।
वास्तवमा अहिलेको यो साम्राज्यवादी पुँजीवादी संसदीय व्यवस्थामा विकास, सुशासन र गरिबको हक–अधिकार सुनिश्चित गर्ने नारामा चुनाव जित्ने र सत्तामा पुग्ने खेल मात्र भइरहेको छ। तर न विकास हुन्छ, न सुशासन कायम हुन्छ, न गरिबको हक–अधिकार सुनिश्चित हुन्छ।
छिमेकी देश भारतलाई नै हेर्नुहोस्। प्रजातन्त्र आएको झण्डै एक शताब्दी पुग्न लाग्यो, तर गरिबी, भोकमरी र भिखारीहरूको प्रतिशत अझै पनि चकित पार्ने खालको छ।

बेरोजगारी, महँगी, लुट र शोषणले भारतीय जनता आक्रान्त छन्। दुई रुपैयाँ किलो गहुँ दिने चुनावी नारा लिएर दलहरू सरकारमा आउँछन्, “फ्रि पानी, फ्रि बिजुली” भन्दै अरविन्द केजरीवाल सत्तामा पुग्छन्। एउटा आउँछ, अर्को जान्छ, तर समस्याहरू ज्यूँका त्यूँ रहन्छन्।
किनकि ती समस्याहरू वर्गीय समस्याहरू हुन्।
नेपालमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले जुन दुई तिहाइ नजिकको बहुमतसहित ठूलो जित हासिल गरेको छ, त्यो पनि दिल्लीमा केजरीवालको ‘क्लिन स्वीप’ जस्तै घटना हो। तर यी शक्तिहरूसँग पनि वर्गीय समस्याहरू समाधान गर्ने स्पष्ट खाका छैन।

छत्तीस वर्षसम्म देशलाई बन्धक बनाएर लुट्ने शक्तिहरूविरुद्धको जनमत नै राष्ट्रिय स्वतन्त्र पार्टीको ठूलो जितको मुख्य कारण हो।

वास्तविक कम्युनिस्टहरू हार्न जान्दैनन्। कम्युनिस्ट राजनीति कहिल्यै हार्दैन। सर्वहारा वर्गका लागि जन्मिएको कम्युनिस्ट पार्टी र राजनीति अजय र अमर हुन्छ। वर्गसंघर्ष, आमूल परिवर्तन र नौलो जनवादी क्रान्तिको विचार जनताको मन–मस्तिष्कमा जीवित रहन्छ।
जब भोको पेटबाट क्रान्तिको ज्वालामुखी विस्फोट हुन्छ, तब मिठा–गुलिया नाराले सत्ता चलाउने धोकेबाज शक्तिहरू क्रान्तिकारी हुरीले उडाएर लैजान्छ। त्यसैले चुनाव जित्ने वा हार्ने कुराले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा मूल अर्थ राख्दैन।
नेपालमा विरोधीहरूले पनि स्वीकारेको तथ्य के हो भने नेपाल कम्युनिस्ट पार्टी (मसाल) र राष्ट्रिय जनमोर्चा मात्र नीतिगत रूपमा वर्गसंघर्षको राजनीतिमा अडिग रहेका कम्युनिस्ट शक्तिहरू हुन्।

यी शक्तिहरू लोभ, मोह, प्रलोभन वा डर–त्रास देखाएर भोट माग्दैनन्। सत्तामा पुगेर यसो गर्छौं, उसो गर्छौं भनेर झुट्टा र चिप्ला आश्वासन बाँड्दैनन्। चुनावलाई जनतालाई सचेत र जागरुक बनाउने माध्यमका रूपमा लिन्छन्।
त्यसैले गिलास चिन्हमा खसेको मतको क्रान्तिकारी महत्व छ। नौलो जनवादी क्रान्तिका लागि आधार तयार पार्ने उद्देश्यले चुनावी मैदानमा उत्रिएको राष्ट्रिय जनमोर्चा पराजित भएको छैन। बरु छिट्टै जनतामा वर्गचेतना बढ्नेछ र नौलो जनवादी क्रान्ति सम्पन्न हुनेछ। अन्ततः त्यो क्रान्तिको विजय सर्वहारा वर्गकै हुनेछ।
संग्रामी अभिवादन। धन्यवाद।
– बिनबहादुर रेग्मी
सुरत (भारत)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation