आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस: अधिकार र सम्मानको आवाज

काठमाडौं । आज विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रमसहित मनाइँदै छ ।
‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ भन्ने ऐतिहासिक नाराबाट सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष मे १ मा यो दिवस मनाइन्छ ।
नेपालमा पनि श्रमिकको हक–अधिकार सुनिश्चित गर्न विभिन्न कार्यक्रम आयोजना गरिँदै आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा देशभर छलफल, गोष्ठी र जनचेतनामूलक कार्यक्रम भइरहेका छन् ।
इतिहासअनुसार सन् १८८६ मा अमेरिकामा सुरु भएको मजदुर आन्दोलनलाई औपचारिक मान्यता दिँदै सन् १८९० देखि अन्तर्राष्ट्रिय रूपमा यो दिवस मनाउन थालिएको हो । नेपालमा भने विसं २००७ को विराटनगर मजदुर आन्दोलनपछि यसको सुरुवात भएको मानिन्छ ।
सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गरेको छ भने सामाजिक सुरक्षा, वैदेशिक रोजगारीको व्यवस्थापन र श्रमिक अधिकार संरक्षणका लागि विभिन्न नीतिगत सुधार अघि बढाइएको जनाएको छ ।
हाल सामाजिक सुरक्षा कोषमा करिब २९ लाख श्रमिक आबद्ध भइसकेका छन् । श्रम बजारलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताइएको छ ।
यद्यपि, रोजगारी सिर्जना, श्रम कानुन कार्यान्वयन र श्रमिकको जीवनस्तर सुधार अझै चुनौतीकै रूपमा रहेको सरोकारवालाहरूको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation