बुटवल । रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। बुटवल–बर्दघाट सडकखण्ड अन्तर्गत गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेश ०० ख ८९२८ नम्बरको ईभी माइक्रो आपसमा ठोक्किएका थिए।
प्रहरी चौकी देवदह खैरेनीका अनुसार दुर्घटनामा ज्यान गुमाउने दुई जनाको नाम र ठेगाना हालसम्म खुल्न सकेको छैन। घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालहरूमा पठाइएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।











