शंकर प्रसाद पोख्रेल
राष्ट्रिय स्वतन्त्र पाटिका सम्पूर्ण विजयी उम्मेदवारहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। जनताले परिवर्तन, सुशासन र पारदर्शिताको अपेक्षा राखेर तपाईंहरूलाई मत दिएका छन्। त्यसैले देशको हित, लोकतान्त्रिक मूल्य र जनताको विश्वासलाई केन्द्रमा राखेर काम गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछु।
नेपालको वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै अब नयाँ नेतृत्वले दीर्घकालीन सुधारतर्फ स्पष्ट कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ। सबैभन्दा पहिले, राष्ट्रिय सहमति जुटाएर संविधान संशोधनको विषयमा गम्भीर बहस आवश्यक छ। प्रदेश संरचनाको प्रभावकारिता, खर्च र प्रशासनिक संरचनाबारे खुला समीक्षा गर्दै प्रदेश संरचना खारेज गर्नुपर्छ।
त्यस्तै जिल्ला समन्वय समितिको औचित्यबारे पनि समीक्षा गर्दै स्थानीय तहलाई अझ शक्तिशाली र उत्तरदायी बनाउने व्यवस्था गर्नुपर्छ। स्थानीय तहलाई अधिकार दिनुका साथै त्यहाँ हुने सम्भावित भ्रष्टाचार नियन्त्रण गर्न स्वतन्त्र र शक्तिशाली छानबिन निकाय गठन गर्नुपर्छ।
नेपालको विदेश नीति सन्तुलित, स्वतन्त्र र राष्ट्रिय हितमा आधारित हुनुपर्छ। नेपालको भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै छिमेकी राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम राख्ने र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य बढाउने नीति अपनाउनुपर्छ।
सरकारी सेवा प्रणाली सुधार गर्नु आजको अर्को महत्वपूर्ण आवश्यकता हो। मालपोत, यातायात, श्रम, भन्सार लगायत सबै सरकारी कार्यालयहरूमा पारदर्शिता, प्रविधिको प्रयोग र स्पष्ट कार्यपद्धति लागू गर्नुपर्छ। सेवा लिन जाँदा नागरिकले झन्झट र अनावश्यक खर्च व्यहोर्नु नपर्ने वातावरण बनाउनुपर्छ। कर्मचारीहरूको मनोबल बढाउन तलब तथा सुविधामा सुधार गर्नुका साथै कार्यक्षमता र उत्तरदायित्वलाई पनि बलियो बनाउनुपर्छ।
भन्सार क्षेत्रमा हुने चोरी, तस्करी र राजस्व चुहावट नियन्त्रण गर्न कडा निगरानी प्रणाली आवश्यक हुन्छ। राज्यको राजस्व एक रुपैयाँ पनि छली हुन नदिने दृढ नीति अपनाउनुपर्छ। त्यस्तै प्रहरी संगठनको मनोबल र कार्यक्षमता बढाउन प्रहरीको तलब तथा सुविधा वृद्धि गर्नुपर्छ। प्रहरीलाई आधुनिक उपकरण, तालिम र पर्याप्त स्रोतसाधन उपलब्ध गराएर उनीहरूको पेशागत सम्मान कायम गर्नुपर्छ।
राष्ट्रिय सुरक्षाको दृष्टिले नेपाली सेनालाई सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा राष्ट्रिय निर्माणका कार्यहरूमा प्रभावकारी रूपमा परिचालन गर्नुपर्छ। त्यस्तै सशस्त्र प्रहरी बललाई पनि पूर्वाधार निर्माण, सुरक्षा व्यवस्थापन र राष्ट्रिय परियोजनाहरूमा सहभागी गराउनुपर्छ, जसले देशको विकास र सुरक्षामा सकारात्मक योगदान दिन्छ।
स्वास्थ्य र शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिनु अत्यन्त आवश्यक हुन्छ। प्रत्येक नागरिकले सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नुपर्छ। सरकारी अस्पतालहरूको सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, आधुनिक उपकरणको उपलब्धता र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तारमा राज्यले विशेष ध्यान दिनुपर्छ।
त्यस्तै शिक्षा क्षेत्रलाई सुधार गर्दै गुणस्तरीय, वैज्ञानिक र व्यवहारिक शिक्षा प्रणाली लागू गर्नुपर्छ। सामुदायिक विद्यालयहरूको स्तर सुधार, शिक्षकहरूको क्षमता विकास, प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार र उच्च शिक्षामा अनुसन्धानको प्रवर्द्धन गर्नुपर्छ। शिक्षा प्रणालीलाई रोजगारीसँग जोड्ने नीति अपनाउनु आजको आवश्यकता हुन्छ।
नेपालको लोकतान्त्रिक यात्रामा २०४६ सालपछि भएका राजनीतिक परिवर्तनसँगै विभिन्न कालखण्डमा भएका भ्रष्टाचारका घटनाहरूको निष्पक्ष छानबिन पनि आवश्यक हुन्छ। विगतमा भएका अनियमितता र भ्रष्टाचारको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ। यसले सुशासनको आधार मजबुत बनाउँछ।
समाजमा विद्यमान सबै प्रकारका विभेद अन्त्य गर्न राज्यले स्पष्ट नीति अपनाउनुपर्छ। महिला अधिकारको संरक्षण र सशक्तीकरण, जनजाति तथा दलित समुदायको समान अवसर र सम्मान सुनिश्चित गर्नुपर्छ। सामाजिक न्याय, समानता र समावेशितालाई व्यवहारमा लागू गर्न विशेष कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ।
रोजगारी सिर्जना नेपालको अर्को महत्वपूर्ण चुनौती हो। युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन उद्योग, कृषि, पर्यटन र प्रविधि क्षेत्रमा लगानी बढाउनुपर्छ। लाखौँ नेपाली युवाहरू विदेशमा श्रम गरिरहेका छन्। उनीहरूको अनुभव, सीप र पूँजीलाई स्वदेशमै उपयोग गर्ने नीति अपनाउनुपर्छ। विदेशमा बस्ने नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्छ, जसले लोकतान्त्रिक अधिकारको सम्मान गर्दछ।
त्यस्तै विदेशमा रहेका नेपालीलाई स्वदेश फर्केर उत्पादन र उद्यममा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ। विशेष गरी कृषि क्षेत्रमा लगानी बढाएर स्वदेशमै उत्पादन वृद्धि गर्नुपर्छ। कृषि, पशुपालन र खाद्य उत्पादनलाई आधुनिक प्रविधिसँग जोडेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्छ।
स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अपनाउनु पनि अत्यन्त आवश्यक हुन्छ। “स्वदेशी उत्पादन, स्वदेशी प्रयोग” को अभियानमार्फत उद्योग, कृषि र घरेलु उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ। यसले रोजगारी सिर्जना गर्नुका साथै देशको अर्थतन्त्रलाई मजबुत बनाउँछ।
अन्ततः जनताले दिएको विश्वासलाई सम्मान गर्दै सुशासन, पारदर्शिता, सामाजिक न्याय र दिगो विकासलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ भन्ने अपेक्षा गर्दछु। नयाँ नेतृत्वले इमानदारी, दृढता र दूरदृष्टिका साथ काम गरेमा देशमा सकारात्मक परिवर्तन सम्भव हुन्छ भन्ने विश्वास व्यक्त गर्दछु।











