नयाँ शक्तिको उदय : चुनौती र सम्भावना

 नवीन बस्याल

नेपालको राजनीतिमा पछिल्ला केही वर्षदेखि देखिएको परिवर्तनको हुटहुटी अब विस्तारै स्पष्ट परिणाममा रूपान्तरण हुन थालेको छ। नयाँ राजनीतिक शक्तिहरूको उदय र पुराना दलहरूप्रति बढ्दो असन्तुष्टि कुनै आकस्मिक घटना होइन। यो लामो समयदेखि सञ्चित हुँदै आएको जननिराशा, असन्तोष र परिवर्तनको आकांक्षाको स्वाभाविक परिणाम हो। आज नेपालको राजनीतिक परिदृश्यलाई नियाल्दा यो देखिन्छ। जनता अब केवल वाचा र नारामा सीमित राजनीति स्वीकार गर्न तयार छैनन्। उनीहरू परिणाम खोजिरहेका छन्, उत्तरदायी नेतृत्व खोजिरहेका छन्, र सम्भवतः एउटा नयाँ राजनीतिक संस्कारको खोजीमा छन्।

यस विषयमा विभिन्न राजनीतिक विश्लेषकहरूले आ–आफ्नो दृष्टिकोण सार्वजनिक गरिरहेका छन्। कसैले यसलाई लोकतन्त्रको स्वाभाविक प्रक्रिया मानेका छन् भने कसैले यसलाई स्थापित राजनीतिक दलहरूप्रति जनताको चेतावनीका रूपमा व्याख्या गरेका छन्। जे होस्, एउटा कुरा स्पष्ट छ, नेपालको राजनीति अहिले परिवर्तनको एउटा संवेदनशील मोडमा उभिएको छ।

गणतन्त्र स्थापना पछिको नेपालको राजनीतिक यात्रामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रजस्ता दलहरूले प्रमुख भूमिका सम्मान योग्य नै छन। नेपालको लोकतान्त्रिक आन्दोलन, बहुदलीय व्यवस्था पुनर्स्थापना, सशस्त्र द्वन्द्वको अन्त्य र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धिहरूमा यी दलहरूको योगदान महत्वपूर्ण छ। त्यसैले उनीहरूको भूमिका अस्वीकार गर्न सकिँदैन। वास्तवमा, नेपालको राजनीतिक इतिहासका धेरै महत्वपूर्ण अध्यायहरू यिनै दलहरूको नेतृत्वमा लेखिएका छन्। तर निरन्तर जनमुखी हुदा संकट पैदा भएको छ। जनतामा निराशा उत्पन्न भएको छन्। यि इतिहासको योगदानले मात्र वर्तमानको असफलतालाई सधैं ढाक्न सक्दैन। विगतका उपलब्धिहरू सम्मानयोग्य भए पनि वर्तमानको राजनीतिक व्यवहार र शासन सञ्चालनको शैलीले जनतामा सन्तोष जगाउन सकेन भने त्यो योगदान क्रमशः इतिहासमा सीमित हुँदै जान्छ।

पछिल्ला वर्षहरूमा नेपाली राजनीतिमा देखिएको अस्थिरता, सरकार परिवर्तनको निरन्तरता, नीति निर्माण र कार्यान्वयनबीचको दूरी तथा भ्रष्टाचारका आरोपहरूले जनतामा गहिरो निराशा पैदा गरेको छ। लोकतन्त्रको नाममा सत्ता साझेदारीको खेल चलिरहँदा सामान्य नागरिकले भने अपेक्षित परिवर्तन अनुभव गर्न सकेका छैनन्। सत्ता समीकरणको अंकगणितले नीति र दृष्टिकोणलाई पछाडि धकेलेको अनुभूति धेरै नागरिकले गरेका छन्। यसले गर्दा मतदातामा एउटा महत्वपूर्ण प्रश्न जन्मियो, के राजनीति केवल नेताहरूका लागि हो, कि जनताका लागि पनि? नेपालको लोकतन्त्रमा मतदाताको शक्ति सर्वोपरि मानिन्छ। तर जब मतदातालाई लाग्न थाल्छ कि उनीहरूको मतले वास्तविक परिवर्तन ल्याउन सकिरहेको छैन, तब उनीहरू विकल्प खोज्न थाल्छन्। यही कारणले गर्दा नेपाली मतदातामा “वास्तविक विकल्प”को खोजी तीव्र परिणाम आएको हो।

विशेष गरी युवापुस्ता पुराना राजनीतिक संरचनाप्रति आलोचनात्मक हुँदै गएको देखिन्छ। उनीहरूलाई लाग्न थालेको छ कि राजनीति केही सीमित व्यक्तिहरूको घेराभित्र बन्द भएको छ। निर्णयहरू जनताको हितभन्दा पनि व्यक्तिगत वा समूहगत स्वार्थबाट प्रभावित हुने गरेको अनुभूति उनीहरूमा बढ्दै गएको छ। यसले गर्दा युवाहरूमा एउटा धारणा बलियो बन्दै गएको छ। राजनीति जनताको सेवा गर्ने माध्यमभन्दा पनि सत्ताको खेल बन्न पुगेको छ। यही पृष्ठभूमिमा नयाँ राजनीतिक शक्तिहरूको उदय भएको हो।

नयाँ दलहरूले जनताको निराशा र परिवर्तनको चाहनालाई राजनीतिक स्वर दिएका छन्। उनीहरूले पुराना राजनीतिक शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै नयाँ प्रकारको राजनीतिक संस्कृतिको वकालत गरेका छन्। यसले नेपाली राजनीतिमा एउटा महत्वपूर्ण सन्देश दिएको छ। जनताको विश्वास स्थायी हुँदैन। जनताको समर्थन सधैं काम र व्यवहारमा निर्भर हुन्छ।

यसै सन्दर्भमा केही वर्षअघि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीको उदयले नेपाली राजनीतिमा एउटा नयाँ बहस सुरु गरिदिएको छ। छोटो समयमै यो दलले उल्लेखनीय जनसमर्थन प्राप्त गर्न सफल भयो। यसले एउटा महत्वपूर्ण प्रश्न उठायो? के अब पुराना दलहरूको वर्चस्व क्रमशः कमजोर हुँदै गएको हो? वा यो केवल जनताको असन्तुष्टिको अस्थायी अभिव्यक्ति मात्र हो?नयाँ दलको छोटो समयमै प्राप्त गरेको लोकप्रियताले एउटा तथ्य स्पष्ट पारेको छ। नेपाली जनता परिवर्तनको पक्षमा मत दिन तयार छन्। धेरै मतदाताहरूले आफूले वर्षौंदेखि समर्थन गर्दै आएका पुराना दलहरूलाई छोडेर नयाँ दललाई अवसर दिएका छन्। कतिपय अवस्थामा मतदाताहरूले नयाँ दलका उम्मेदवारलाई व्यक्तिगत रूपमा राम्रोसँग नचिनेको भए पनि “परिवर्तनको पक्षमा” मत दिएको कैयौँ उदाहरणहरू छन। यसले देखाउँछ कि जनतामा राजनीतिक विद्रोहको भावना बढ्दै गएको छ। उनीहरू पुरानै अनुहार र पुरानै शैलीको राजनीतिबाट थाकिसकेका छन्।

तर नयाँ दलहरूको उदयलाई केवल उत्साह र आशाको दृष्टिले मात्र हेर्नु पर्याप्त हुँदैन। लोकप्रियता प्राप्त गर्नु र प्रभावकारी शासन सञ्चालन गर्नु दुई फरक कुरा हुन्। चुनाव जित्नु एउटा कुरा हो, तर शासन सञ्चालन गरेर जनताको अपेक्षा पूरा गर्नु अर्को चुनौतीपूर्ण काम हो। नयाँ शक्तिहरूका लागि अहिलेको सबैभन्दा ठूलो चुनौती यही हो। उनीहरूले आफूलाई केवल विकल्पको रूपमा होइन, सक्षम नेतृत्वको रूपमा पनि प्रमाणित गर्नुपर्नेछ।

राजनीतिमा आलोचना गर्नु अपेक्षाकृत सजिलो हुन्छ, तर शासन सञ्चालनको जिम्मेवारी वहन गर्नु निकै जटिल हुन्छ। नीति निर्माण, प्रशासनिक संरचना सुधार, आर्थिक व्यवस्थापन र दीर्घकालीन विकास रणनीति तयार गर्नु जस्ता विषयहरूमा स्पष्ट दृष्टिकोण र व्यवहारिक क्षमता आवश्यक हुन्छ। त्यसैले नयाँ दलहरूले अब आफ्नो दृष्टि, क्षमता र प्रतिबद्धता व्यवहारमा प्रमाणित गर्नुपर्नेछ।

नेपालको लोकतन्त्रका लागि अहिलेको अवस्था जोखिम र अवसर दुवै हो। यदि नयाँ शक्तिहरूले पारदर्शिता, उत्तरदायित्व र सुशासनको उदाहरण प्रस्तुत गर्न सके भने यसले सम्पूर्ण राजनीतिक संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। यसले पुराना दलहरूलाई पनि आत्मसमीक्षा गर्न बाध्य बनाउनेछ। तर यदि नयाँ शक्तिहरू पनि समयसँगै पुरानै प्रवृत्तिको शिकार भए भने जनताको निराशा अझ गहिरो हुनेछ। त्यस अवस्थामा लोकतन्त्रप्रतिको विश्वास कमजोर हुन सक्ने खतरा पनि रहन्छ।

आजको नेपाली समाजमा एउटा महत्वपूर्ण परिवर्तन देखिएको छ। जनताको चेतना बढेको छ। सूचना प्रविधि र सामाजिक सञ्जालको विस्तारले राजनीतिक गतिविधिहरूलाई सार्वजनिक बहसको विषय बनाइदिएको छ। जनता अब नेताहरूको भाषण मात्र होइन, उनीहरूको काम र आचरण पनि नजिकबाट नियालिरहेका छन्।

आजको नागरिक नारामा होइन, परिणाममा विश्वास गर्न चाहन्छ।उनीहरूलाई रोजगारी चाहिएको छ। उनीहरूलाई गुणस्तरीय शिक्षा चाहिएको छ। उनीहरूलाई सहज स्वास्थ्य सेवा चाहिएको छ। उनीहरूलाई भ्रष्टाचारमुक्त शासन चाहिएको छ। यी आधारभूत अपेक्षाहरू पूरा गर्न नसक्ने कुनै पनि राजनीतिक शक्ति दीर्घकालीन रूपमा टिक्न सक्दैन।

आज नेपालको राजनीतिले एउटा स्पष्ट सन्देश सुन्नुपर्ने अवस्था आएको छ। अब केवल भाषण र नाराले काम चल्ने समय सकिएको छ। परिणाम देखिने काम नगर्ने जो कोही राजनीतिक शक्तिलाई जनताले अस्वीकार गर्न सक्ने अवस्था बनिसकेको छ। यस अर्थमा नयाँ दलहरूको उदय केवल राजनीतिक प्रतिस्पर्धा मात्र होइन, पुराना दलहरूका लागि गम्भीर चेतावनी पनि हो।

नेपालको राजनीति अहिले एउटा यस्तो मोडमा उभिएको छ जहाँ पुराना अनुभव र नयाँ आकांक्षाबीच सन्तुलन खोज्नुपर्ने चुनौती देखिएको छ। यदि यो सन्तुलन कायम गर्न सकियो भने नेपालको लोकतन्त्र अझ परिपक्व र बलियो बन्न सक्छ। तर यदि राजनीतिक शक्तिहरूले जनताको सन्देशलाई बेवास्ता गरे भने इतिहास फेरि अर्को विकल्पको खोजीमा अघि बढ्न सक्छ। किनभने अन्ततः लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति जनता नै हुन् र जब जनता परिवर्तनको पक्षमा उभिन्छन्, तब राजनीतिक इतिहास नयाँ दिशातर्फ मोडिनु स्वाभाविक हुन्छ। यस अर्थमा नयाँ दलहरूको उदय केवल राजनीतिक प्रतिस्पर्धा मात्र होइन, पुराना दलहरूका लागि गम्भीर चेतावनी पनि हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation