प्युठान खुङ्ग,गौमुखिमा चट्याङ प्रतिरोधी टावर निर्माणका लागि ७० लाख बजेट माग

शंकर प्रसाद पोख्रेल ,बुटवल 

प्यूठान जिल्लाको गौमुखी गाउँपालिका–५ खुङ्ग क्षेत्रमा वर्षौंदेखि चट्याङ (चिड्को) का कारण जनधनको क्षति हुँदै आएको समस्यालाई समाधान गर्न स्थानीय जनप्रतिनिधि सक्रिय बनेका छन्। गाउँमा बारम्बार चट्याङ पर्दा सर्वसाधारण त्रसित बन्नुका साथै पशुचौपाया, घर तथा विद्युत संरचनामा समेत क्षति पुग्ने गरेको भन्दै अब स्थायी समाधानको पहल थालिएको हो।

गौमुखी गाउँपालिका,५, खुङ्गका वडा अध्यक्ष बरुनधोज मल्ल को अगुवाइमा राजधानी काठमाडौं पुगेर चट्याङ प्रतिरोधी टावर निर्माणका लागि गृह मन्त्रालयसमक्ष रु ७० लाख बजेट माग गरिएको छ। उक्त पहल सांसद सुशान्त वैदिक मार्फत गरिएको जनाइएको छ।

स्थानीयवासीको सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यस पहलमा प्राविधिक तथा राजनीतिक तहबाट समेत साथ मिलेको वडा अध्यक्ष मल्लले बताएका छन्। उनले खुङ्ग र गौमुखी क्षेत्रका बासिन्दाले वर्षौंदेखि भोग्दै आएको समस्याको दीर्घकालीन समाधानका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।

यस अभियानमा विशेष सहकार्य गरेको भन्दै वडा अध्यक्ष मल्लले गौमुखीका इन्जिनियर शिव पुन तथा राष्ट्रिय स्वतन्त्र पार्टी गौमुखीका सभापति सन्तोष कुँवर लाई विशेष धन्यवाद व्यक्त गरेका छन्।

“आउनुहोस्, आफ्नै थातथलोको विकासका लागि हातेमालो गरौँ,” भन्दै उनले विकास र जनसुरक्षाका सवालमा सबै पक्षलाई एकताबद्ध हुन आग्रह गरेका छन्।
स्थानीय स्तरमा चट्याङबाट हुने जोखिम न्यूनीकरणका लागि टावर निर्माणको योजना अघि बढेपछि खुङ्ग–गौमुखि क्षेत्रका नागरिकमा आशा पलाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation