बुटवल, जेठ ३ : भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आइतबार बुटवलमा विशाल प्रदर्शन गर्दै सरकारको बस्ती हटाउने अभियानप्रति तीव्र असन्तुष्टि जनाएका छन्। विभिन्न जिल्लाबाट आएका सहभागीहरूले “पहिला बसोबासको सुनिश्चितता, त्यसपछि मात्रै व्यवस्थापन” भन्ने माग अघि सार्दै सडक प्रदर्शन गरेका हुन्।
नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समितिको अगुवाइमा भएको प्रदर्शन बुटवलको मुख्य चौराहाबाट सुरु भई विभिन्न स्थान परिक्रमा गर्दै सभामा परिणत भएको थियो। प्रदर्शनमा सहभागीहरूले आफूहरू वर्षौंदेखि बसोबास गर्दै आएको ठाउँबाट कुनै वैकल्पिक व्यवस्था नगरी हटाउन खोजिएको भन्दै सरकारको कदमको विरोध गरेका थिए।
कार्यक्रममा सहभागीहरूले घरबार विहीन बनाउन खोजिएको आरोप लगाउँदै “गरिबमाथि अन्याय बन्द गर”, “पहिला पुनःस्थापना, अनि मात्रै हटाउने कुरा” लगायतका नारासमेत लगाएका थिए। प्रदर्शनका कारण बुटवलका केही क्षेत्र केही समय प्रभावित बनेका थिए भने सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।
आयोजक समितिका अनुसार देशका विभिन्न जिल्लाबाट हजारौं भूमिहीन तथा अव्यवस्थित बसोबासी बुटवल पुगेका छन्। उनीहरूले पछिल्ला दिनहरूमा विभिन्न स्थानमा भएको डोजर अभियानले गरिब परिवार त्रसित बनेको दाबी गरेका छन्।
संघर्ष समितिका प्रतिनिधिहरूले सरकारले सार्वजनिक जग्गा संरक्षणको नाममा वास्तविक गरिब नागरिकमाथि दबाब सिर्जना गरेको आरोप लगाए। उनीहरूले दीर्घकालीन समाधानका लागि राज्यले स्पष्ट नीति ल्याउनुपर्ने मागसमेत गरेका छन्।
प्रदर्शनपछि आयोजित सभामा विभिन्न प्रदेशबाट आएका प्रतिनिधिहरूले भूमिहीन नागरिकको समस्या राष्ट्रिय मुद्दा बनेको भन्दै अब संगठित रूपमा आन्दोलन अघि बढाउने नेकपा( माओवादी ) रुपन्देही जिल्ला सेक्रेटरी बिरेन्द्र सिले बताएका छन। भूमि समस्या समाधान नभएसम्म आन्दोलन नरोकिने सुकुम्बासी आन्दोलनका अगुवा बिरेन्द्र सिले बताए।

त्यसैगरी, बुटवलमै हुने राष्ट्रिय भेलामा विज्ञ, सरोकारवाला तथा विभिन्न प्रदेशका प्रतिनिधिबीच छलफल गरी आगामी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने संघर्ष समितिले जनाएको छ। आन्दोलनलाई केही राजनीतिक दल तथा स्थानीय संघसंस्थाले पनि समर्थन जनाएका छन।












