फेसबुक स्टाटसपछि झापाका बैंकर पिताम्बर खड्का मृत फेला

झापा : झापाको दमक नगरपालिका ८ लक्ष्मीमार्ग टोलका ४२ वर्षीय बैंकर पिताम्बर खड्का मृत अवस्थामा फेला परेका छन्। उनी ग्लोबल आइएमई बैंकको विराटनगर शाखामा कार्यरत थिए।

प्रहरीका अनुसार खड्काले आत्महत्या गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा चार जनाको सामूहिक फोटो सार्वजनिक गरेका थिए। उक्त पोस्टमा उनले आफू आत्मघाती कदम चाल्न बाध्य भएको आशय व्यक्त गरेका थिए। पोस्टमा दीपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको फोटो राखिएको बताइएको छ।

फेसबुक स्टाटस पोस्ट गरेको केही समयपछि उनले आफ्नै घरको भुइँतलामा रहेको कोठामा सिलिङ फ्यानको हुकमा प्लास्टिकको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटना साँझ करिब ५ बजेतिर भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ।

मृतकका बुवा महेश खड्काले छोरा झुण्डिएको अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेर मुचुल्का तयार गरी अनुसन्धान अघि बढाएको छ।
दमक–८ का वडा अध्यक्ष धर्मप्रसाद दाहालका अनुसार शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ। प्रहरीले घटनाको कारण र पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation