अबको केही हप्ताभित्रै सुकुमबासीलाई लालपुर्जा वितरण गरिने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल ले सुकुमबासी समस्या समाधानका लागि सरकारले नयाँ संरचनामार्फत काम अघि बढाएको बताउँदै अबको केही हप्ताभित्रै लालपुर्जा वितरण सुरु गरिने जानकारी दिएकी छन्।
मन्त्री रावलको सचिवालयले सार्वजनिक गरेको भिडियो सन्देशमा उनले विगतमा अपनाइएका पुराना संरचना तथा कार्यशैली प्रभावकारी हुन नसकेको स्वीकार गर्दै अब फरक ढंगबाट अघि बढ्न आवश्यक रहेको उल्लेख गरिन्।
उनले भनिन्, “पुरानो ढर्राबाट हुँदैन। पहिलेका संरचनाले अपेक्षित नतिजा दिन सकेनन्, त्यसैले सरकारले नयाँ ढाँचामा काम अघि बढाएको हो।”
सरकारले अध्यादेशमार्फत संरचनागत परिवर्तन गरेको र नयाँ संयन्त्र निर्माणको प्रक्रिया जारी रहेको भन्दै उनले यसले चाँडै परिणाम दिने दाबी गरिन्।
मन्त्री रावलका अनुसार सरकारले सहकारी समस्यापछि सुकुमबासीको मुद्दालाई उच्च प्राथमिकतामा राखेको छ। “अबको केही हप्ताभित्रै सुकुमबासीलाई लालपुर्जा वितरण गर्छौँ,” उनले भनिन्।
वर्षौँदेखि लालपुर्जाको पर्खाइमा रहेका सुकुमबासी समुदायले यस कदमबाट राहत पाउने अपेक्षा गरिएको छ। पछिल्लो समय विभिन्न स्थानमा सुकुमबासी बस्तीमा डोजर चलाइएको विषयलाई लिएर सरकार आलोचित हुँदै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation