हस्ताक्षरको क्रान्ति : “जनयुद्ध”बाट जुलुस, अनि जेलबाट नेता

गणेश आचार्य
एक समय थियो, प्रचण्ड र बाबुरामले जनयुद्ध सुरु गर्दा हातमा हतियार थियो, मनमा सपना थियो होला । अर आज उनीहरू हस्ताक्षर गर्दै छन् — रवि लामिछानेलाई जेल पठाएकोमा दुःखी हुँदै।

कुनै बेला “राज्यसंयन्त्रमा सर्वसत्तावाद छ!” भनेर बन्दुक बोकेका नेताहरू अब भन्छन् —
“हामी अदालतप्रति गम्भीर चिन्तित छौं, रविजीलाई पुर्पक्ष थुनामा राख्नु त ठ्याक्कै राजनीतिक प्रतिशोध हो!”

हिजो राज्यलाई खल्तीमा हाल्ने सपना देख्नेहरू,
आज रविलाई अदालतले थुन्दा सहानुभूतिमा बग्दै छन्।
शायद अब नयाँ क्रान्तिको सुरुवात यहीबाट हुन्छ —
“ठगी प्रकरणमा थुनिएको अभियुक्तलाई छुटाउन हस्ताक्षर गरेर इतिहास बदल्ने!”

धन्य छ न्यायको नयाँ परिभाषा!
अब अदालतले निर्णय गर्छ, नेताहरू त्यसको विरोधमा हस्ताक्षर क्रान्ति गर्छन्।

प्रचण्डजी, तपाईं त प्रधानमन्त्री भएको मान्छे हो नि!
जेल पठाउने पनि तपाईं, हस्ताक्षर गरेर बचाउने पनि तपाईं — के कमालको लोकतन्त्र!

बाबुरामजी, तपाईं त सिङ्गो संविधान बनाउने ‘बुद्धिजीवी प्रधानमन्त्री’ हो।
तर आज तपाईंको कलम रविलाई “राजनीतिक सताइएका नेता” घोषणा गर्न प्रयोग हुँदैछ।
जनताले प्रश्न गर्न थालेका छन् —
“के ठगको समर्थन गर्ने नै तपाईंहरूको राजनीतिक पुनर्जागरण हो?”

रास्वपा त राम्रै चलायो —
पहिले सहकारी लुट्नेहरूलाई उम्मेदवार बनायो,
अब तिनलाई थुनामा नपरोस् भनेर लोकतन्त्रको रक्षा भन्दै हस्ताक्षर संकलन गर्दैछ।
कहिलेकाहीँ लाग्छ —
ठग, न्याय, अदालत, र नेताहरू एउटै हल्का टेबलमा चिया पिउँदै छन्!

हो, अब हतियार होइन —
“हस्ताक्षर” नै क्रान्तिको नयाँ अस्त्र बनेको छ।
न विचार चाहियो, न योजना —
बस, कागजमा नाम लेख, फोटो खिच, अनि फेसबूकमा पोस्ट गर —
क्रान्तिकारी ब्राण्ड तयार!

तर देशका युवाहरू सोध्न थालेका छन्:
“जनयुद्धले ल्याउन नसकेको परिवर्तन, रविलाई बचाउन गरिएको हस्ताक्षरले ल्याउँछ त?”
अनि जवाफ त्यही पुरानै छ —
“जनताको बर्बादीलाई नेताहरूको सहानुभूति चाहिँ कत्तिको महँगो पर्छ!”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation