
नेपाली जनतामा मूलतः भेंडोपन धेरै छ । गणेशमान सिंहले समाज बुझेरै नेपाली जनतालाई भेंडा भनेर सही विश्लेषण गरेका हुन् । माओवादी पूरापूर हत्याहिंसाबाट आएको थियोे, आफ्नै घरमा हत्याहिंसा, डकैती हुँदा पनि २०६४ मा उसैलाई भोट हालेर जिताइदिए । त्यसै कारण नेपाल संघीयता जस्तो खतरनाक दुष्चक्रमा फस्यो । यदि माओवादीले त्यसरी जित्दैन थियो भने देश यति खतरनाक संघीयताको दुष्चक्रमा फस्दैन थियो । आज तिनै भेंडा जनता बल्ल संघीयता चाहिंदैन भन्न थालेका छन् ।
पछिल्लो समय देशभर सहकारी ठगहरूको विगबिगी छ । मान्छेहरू उतैतिर लागेका छन् र सर्वोच्च अदालतले ठगीको अभियोगमा पुर्पक्षका लागि जेल पठाएको व्यक्तिको पक्षमा हस्ताक्षर गर्दैछन् । यो नेपाली जनताको इतिहासकै नालायकीपन, लुटपाटको समर्थन र ती हस्ताक्षर गरिब जनताको रगतपसिनाको घोर अबमूल्यन हो । यस्ता नालायक जनता कहिल्यै ठीक ठाउँमा पुग्दैनन् । तिनीहरूलाई नालायक हुनुमै मज्जा आइरहेको हुन्छ । जस्तै कि जुवातास खेल्नेहरूलाई जुवातासमै मज्जा आउँछ, जाँडरक्सी खानेहरूलाई जाँडरक्सीमै मज्जा आइरहेको हुन्छ ।
भूपि शेरचनले नेपालीहरूको बुद्धि जाँचेरै कविता लेखेका छन् । यो कविता यति धेरै शक्तिशाली र वास्तविक छ कि यत्तिको वास्तविक कविता निकै थोरै लेखिन्छन्-
हामी वीर छौँ, तर बुद्धु छौँ
हामी बुद्धु छौँ, र त हामी वीर छौँ
हामी बुद्धु नभइकन वीर कहिल्यै हुन सकेनौँ ।
वीर र बुद्धु हुनुमै गर्व गर्ने भएपछि बाँकी छलफल गर्नै परेन । नेपाली समाजको गहिरो विश्लेषण गणेशमान सिंह र भूपि शेरचनले गरेका छन् । बारम्बारका घटनाबाट जनताको ठूलो समूह नै नालायक छन् भन्नेमा कुनै शंका छैन । के बुझ्न जरुरी छ भने सहकारीको ठगी गिरोह अन्ततः राजावादीको गिरोह हो, जसरी रवीन्द्र मिश्र खतरनाक तरिकाले राजालाई काँधमा हाले, अहिले अर्को गिरोह सक्रिय भएको छ । नालायक जनताको विरुद्धमा सचेत जनता उठ्नु आजको आवश्यकता हो ।