
कल्पना पौडेल
म सानैदेखि मान्दै आएकी छु —
सत्य त्यो हो, जो देखिन्छ, अनुभूत हुन्छ,
अन्धविश्वास होइन, सोचको उज्यालो,
संघर्षको धरातलमा उभिएको यथार्थ।
म भौतिकतामा विश्वास गर्छु —
कसैको कृपा होइन, आफ्नै श्रममा भरोसा,
न भाग्यको पूजा गर्छु, न त काल्पनिक आशामा बाँच्छु,
म त वर्तमानको धड्कनमा छु, जसले स्वतन्त्रताको लय गाइरहेकी छु।
यहाँ मैले धेरै देखेँ —
जसको मुख प्रगतिशील छ, तर चालढालमा रूढीको साङ्लो,
जो अगाडि बढ्न चाहन्छ भन्ने देखाउँछ,
तर हरेक पाइला परम्पराको डरमा थर्कन्छ।
म फरक छु —
म जे भन्छु, त्यो जिउन खोज्छु,
मेरो विचारहरू किताबमा मात्र होइन,
मेरो हिँडाइ, बोलाइ, रोजाइमा झल्किन्छ।
म ढोंग गर्दिन,
म नारी भएर पनि चुप लाग्दिन,
म पूजा होइन, पहिचान चाहन्छु,
श्रृङ्गार होइन, सम्मान चाहन्छु।
मेरो शक्ति मेरो चेतनामा छ,
मेरो सौन्दर्य मेरो स्वतन्त्र सोचमा,
म बाँधिन चाहन्न — घरको चार भित्ताको सीमामा
बाँच्न चाहन्छु — आकाशजत्तिको खुल्ला फैलावटमा।
म गर्व गर्छु —
म एक भौतिकवादी,
एक प्रगतिवादी,
एक स्वतन्त्र नारी हुँ।
म आस्थाको होइन,
कार्यको पूजा गर्छु,
म भविष्यको सपना होइन,
वर्तमानको संकल्प हुँ।
म बाँच्न चाहन्छु — यथार्थसँग टक्कर खाँदै,
बाँच्न चाहन्छु — परिवर्तनको मुटु भएर
र म यति मात्र भन्न चाहन्छु —
म आफ्नो विचारको कर्मशील छाया हुँ,
र म यो भएर पनि, अझ गर्वले भन्न सक्छु—
म नारी हुँ,
तर असहाय होइन,
म प्रगतिशील हुँ,
ढोंगी होइन।