प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने फ्रान्सका राष्ट्रपतिको घोषणा

फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले यसै वर्षको आउँदो सेप्टेम्बरमा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बताउनुभएको हो ।

यसको औपचारिक घोषणा अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभाको सत्रमा गरिने राष्ट्रपति म्याक्रोँले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत जानकारी दिनुभएको छ ।

आजको सबैभन्दा ठूलो आवश्यकता गाजामा युद्ध अन्त्य गर्नु र सर्वसाधारणको सुरक्षा गर्नु रहेको उहाँले बताउनुभएको छ । आफूहरूले तत्काल युद्धविराम, सबै बन्धकहरूको रिहाइ र गाजाका नागरिकलाई ठूलो मात्रामा मानवीय सहायता चाहेको फ्रान्सेली राष्ट्रपतिले ‘एक्स’ मा लेख्नुभएको छ ।

प्यालेस्टिनी अधिकारीहरूले म्याक्रोँको निर्णयको स्वागत गरेका छन् । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने यो कदमको आलोचना गर्नुभएको छ । उहाँले प्यालेस्टानलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिनु भनेको आतङ्कवादलाई पुरस्कृत गर्नु बराबर रहेको बताउनुभएको छ ।

फ्रान्सका राष्ट्रपतिले भने मध्य पूर्वमा न्यायपूर्ण र दिगो शान्तिका लागि प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने निर्णय गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation