
रामविलास जैसवाल
न्यायशास्त्र भनेको न्याय कर्तव्य र अधिकारको वैज्ञानिक अध्ययन हो। मानव समाजमा न्याय स्थापना गर्न बनाइएको विचार र सिद्धान्तहरूको मार्गदर्शक ज्ञान हो। न्यायशास्त्रलाई विधिशास्त्र पनि भनिन्छ। यो कानुनको गहिरो अध्ययन तथा व्याख्या हो। यस अनुसार नियम, सामाजिक दायित्व, मान्यता, मापदण्ड र नैतिकताको समूह नै विधिशास्त्र हो।यसले कानुन कसरी निर्माण हुन्छ , कानुन कहाँ र कसरी प्रयोग गरिन्छ , कुन समाजमा कस्तो कानुन हुनुपर्छ , कानुनको महत्त्व के छ भन्ने विषयमा विस्तृत ज्ञान प्रदान गर्दछ ।
यसै अनुसार बौद्ध विधिशास्त्र भन्नाले सिद्धार्थ गौतम जसलाई गौतम बुद्धको नामले समेत चिनिन्छ, उनको शिक्षाबाट प्राप्त भएको नैतिक आचरण र व्यवहारको रूपरेखालाई जनाउँछ। तसर्थ बौद्ध विधिशास्त्र भनेको बौद्ध धर्मको शिक्षा र सिलमा आधारित न्याय र कानुनको सोच हो। बुद्धले आफ्नो जीवनको कालखण्डमा दिएका ज्ञान उपदेश नियम सदाचार करुणाको समग्र रूपमा नै बौद्ध विधिशास्त्र हो। बौद्ध विधिशास्त्र खास गरी मानव निर्मित कानुनमा आधारित नभई प्राकृतिक र नैतिक सिद्धान्त जस्तै शिल प्रज्ञा मानसिक अनुशासन कर्म सिद्धान्त माध्यम मार्ग जस्ता सिद्धान्तमा आधारित छ। बौद्ध विधिशास्त्र अनुसार यस ब्रह्माण्डमा रहेका सम्पूर्ण प्राणीहरु न्यायपूर्ण तरिकाले बाँच्न पाउनुपर्छ भन्ने धारणा राख्दछ।
जतिबेला संसारमा कानुनको छुट्टै बिधा थिएन। जतिबेलाको समाज धार्मिक ग्रन्थहरुमा प्रबन्ध गरिएको प्रावधानका आधारमा सन्चालन हुने गर्दथ्यो। जतिबेलाको शासन व्यवस्था राजाको व्यक्तिगत सोचका आधारमा सन्चाल्न हुने गर्दथ्यो। त्यसबखत संघलाई, समाजलाई अनि राज्यलाई कसरी सुव्यवस्थित रुपमा सन्चालन गर्ने भन्ने स्पष्ट नियमहरुको खाका बुद्धले संघ, समाज र राज्यलाई दिएका थिए।यसलाई बौद्ध विधिशास्त्र भनिन्छ। ती विधिहरु बिनयपिटकमा, बुद्धका पन्चशीलमा, धम्मपदमा, जातक कथा आदिमा पाउन सकिन्छ। अतः बौद्ध विधिशास्त्रका स्रोतहरु पनि तिनै हुन भन्दा अतिसयोक्त्ति हुदैन।गौतम बुद्धले ईसापूर्व पाँचौं शताब्दीमा दिएका ज्ञान तथा उपदेशरुपि बौद्ध विधिशास्त्रका यिनै शिक्षाहरुको जगमा अहिलेको वर्तमान आधुनिक कानुनी प्रणाली उभिएको पाइन्छ।
बुद्धले आजभन्दा करीब २६०० वर्ष अगाडि नै दिएका पञ्चशीलका शिक्षाहरुः प्राणी हत्या नगर्नु, चोरी नगर्नु, यौन दुर्व्यवहार नगर्नु, झुट नबोल्नु, मादक पदार्थ सेवन नगर्नु जस्ता शीलहरुले शान्त र सुव्यवस्थीत समाजको परिकल्पना गरेको छ भने यसको विपरीत कुनै गलत काम गरियो भने कसुर गरेको मानिन्छ र कानुन अनुसार सजाय हुन्छ। जसलाई बुद्धले प्रतिमोक्ख र पाराजिका नियमहरुमा उल्लेख गरेका छन। यसैलाई आधुनिक कानुनी दृष्टिकोणबाट हेर्दा नेपालको संविधानको धारा १६ मा बाँच्न पाउने हक, मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ मा ज्यान मार्ने सम्बन्धी कुनै कसुर गर्न नहुने प्रावधान, पशु स्वास्थ्य तथा सेवा ऐन २०५५, पशु कल्याण निर्देशिका २०७३, र अपराधसहित २०७४ को परीक्षा २७ मा पशुपंक्षी सम्बन्धी कसुर गर्न नहुने गरी व्यवस्था गरिएको छ। यसैगरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा करणी गर्न नहुने र बालबालिका सम्बन्धी ऐन २०७५,मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रण २०६४ मा समेत यौन दुर्व्यवहार गर्न हुनेगरी व्यवस्था गरिएको छ। सोही संहिताको परिच्छेद २० मा चोरी गर्न नहुने र साइबर सुरक्षा ऐन २०८०, बैंक तथा वित्तीय संस्था ऐन २०७३, वन ऐन २०७६ मा समेत चोरी गर्न नहुने उल्लेख गरिएको छ। यसैगरी लागू औषध नियन्त्रण ऐन २०३३, औषधि ऐन २०३५ म लागू पदार्थ सेवन गर्न नहुने गरी व्यवस्था गरिएको छ। यसै गरी झुट नबोल्ने व्यवस्था सम्बन्धी हेर्दा शपथका कुराहरू धर्म अनुसार कसम खानेगरी व्यवस्था रहेको पाइन्छ।आधुनिक कानुनी व्यवस्थामा देखिएका यी प्रावधानहरु बौद्ध न्यायशास्त्रमा उतिबेला देखिनै थिए। तर, दुर्भाग्य, आज विश्वले कानुन, १९ औँ, २० औँ पश्चिमा लेखकहरुले गरेको व्याख्याका आधारमा तय गरेको छ। सन १२१५ को म्याग्ना कार्टालाई विश्वको पहिलो कानुन मान्ने विश्वलाई हामीले बौद्ध न्यायशास्त्रको पाठ शिकाउनु जरुरी छ र बताउनु जरुरी छ कि पाचौँ शताब्दि इसापूर्व मा नै बुद्धले व्यवस्थित कानुनको जग हालेका थिए।
त्रिपिटकको पहिलो पीटक विनय पिटकमा भिक्षु समुदायलाई नियमित र व्यवस्थित तरिकाले सञ्चालन गर्नकालागि बनाइएको प्रतिमोक्ख नियम तथा चुल्लबग्ग, महाबग्ग आदिमा तय गरिएका नियमहरू त्यतिबेला भिक्षु समुदायको लागि मात्र भएपनि अहिलेको आधुनिक कानुनी प्रणालीलाई समेत ती नियमहरुमे प्रभावित पारेको छ। उदाहरणको लागि वर्तमान कानुनको सबैभन्दा महत्त्वपूर्ण सिद्धान्त विधिको शासन हाल संविधानको धारा १ मा नै संविधान सर्वोच्च कानुन हो र संविधानको धारा २० को उपधारा १ मा कुनै पनि व्यक्तिलाई पक्राउ परेको कारण सहितको सूचना नदिई थुनामा राखिने छैन जस्ता व्यवस्थाहरु देख्न सकिन्छ।
सुधारात्मक न्यायभित्र हेर्दा भिक्षु समुदायमा एकदमै गम्भीर कसुर पाराजीका बाहेक अन्य कसुरमा सुधारात्मक न्यायको अवलम्बन गरिन्थ्यो। वर्तमान कानुनमा सुधारात्मक न्यायको पूर्ण व्यवस्था छ। संविधानको धारा ४५ मा देश निकाला विरुद्धको हक र संविधानको धारा २० को उपधारा ९ मा थुनामा राखिएकोलाई मानवीय व्यवहार गरिनेछभन्ने प्रावधान, यसैगरी फौजदारी कसुर तथा सजाय ऐन २०७४ को दफा १६ मा वैकल्पिक सजायको व्यवस्था, दफा १७ मा सजाय माफी र देवानी कार्यविधि संहिता २०७४ को दफा १९३, १९४ र १९५ मा मेलमिलाप र मध्यस्थताको व्यवस्था गरिएको छ। मेलमिलाप ऐन २०६८ अनुसार सबै तहका अदालत तथा निकायले मेलमिलाप केन्द्र स्थापना गरी विवाद समाधान गर्ने प्रावधान छ। यी सबै प्रावधानहरु बडो व्यवस्थित रुपमा बौद्ध विधिशास्त्रमा उल्लेख गरिएका छन।
सर्वसाधारणका लागिः आर्य अष्टाङ्गिक मार्ग
आर्य अष्टाङ्गिक मार्गमा बुद्धले सुझाएका आठ मार्गहरुः सम्यक वाणी, सम्यक संकल्प, सम्यक कर्मान्त, सम्यक दृष्टि आदि जस्ता कुराले पनि मानिसको आन्तरिक जीवनमा प्रभाव पार्नुका साथै न्यायपूर्ण समाज स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यिनको प्रमुख काम समाजमा शान्ति र सुव्यवस्था कायम गरी न्यायपूर्ण समाजको स्थापना गर्नु थियो।अनि थियो सबैजनालाई वेमेल, असमानता र दुखको दलदलबाट मुक्त्ति दिलाउनुको।
राजाका लागि १० राजधम्मः
सिद्धार्थ गौतमले राज्यलाई उचित ढंगले सञ्चालन गर्न १० राज धम्म लगायत विभिन्न उपदेशहरु दिएका थिए। हालको वर्तमान कानुनमा यसले महत्त्वपूर्ण भूमिका खेलेको छ। वर्तमान कानुनमा संविधानको भाग ४ मा राज्य निर्देशक सिद्धान्त नीति तथा दायित्व राष्ट्रिय योजना वा वार्षिक कार्य योजना हरूले देशमा भइरहेका विभिन्न समस्यालाई समाधान गरेको छ, तर हाल वर्तमान कानुनमा दश राजधम्मको उचित तरिकाले लागू देख्न सकिन्छ यदि बुद्धको १० राजधम्मको नियम लागूगर्न सके देशमा व्याप्त अशान्ति, असमानता र अनेकौ समस्याहरूलाई सजिलो गरि समाधान गर्न सकिन्छ। यसले एउटा मजबुत राज्य मात्र नभई एउटा व्यवस्थित र मर्यादित राज्यको रुपमा देशलाई स्थापित गर्न सकिन्छ।
निष्कर्षमा भन्नुपर्दा बौद्ध विदेशशास्त्र आधुनिक कानुनी प्रणालीको मौलिक आधार हो। किनकि बुद्धले त्यतिबेला यी नियमहरुका उपदेशहरू दिएका थिए जतिबेला कानुनको कुनै पनि व्यवस्था थिएन। अर्थात् आजभन्दा करिब २६०० वर्षअघि दिएका नियम उपदेश तथा आदेश आजको आधुनिक कानुनी प्रणालीमा प्रत्यक्ष रुपमा देख्न सकिन्छ। त्यसै कारणले बौद्ध विधिशास्त्र आधुनिक कानुनी प्रणालीको आधार हो भनेर दावा गर्न सकिन्छ। बौद्ध विधिशास्त्रले करुणा, अहिंसा, सत्यता, समानता र नैतिक जीवनको शिक्षा दिन्छ र यिनै मूल्यहरू आजको आधुनिक कानुनले अपनाएको छ। अपराधीलाई केवल दण्ड होइन सुधर्ने मौका दिनुपर्छ, पीडितको सम्मान गर्नु, सबैलाई समान व्यवहार गर्नु जस्ता कुरा्हरु बौद्ध शिक्षाबाट प्रेरित रहेका पक्षहरु हुन। त्यसैले हामीले कानुनको उत्पत्ति र व्याख्याका लागि पश्चिमा कानुनलाई मात्रै अध्ययन नगरेर बौद्ध शिक्षालाई गहन रुपमा अध्ययन गरी यसै शिक्षामा आधारित कानुनको निर्माण र कार्यान्वयन गर्न सकियो भने एउटा असल र उत्कृष्ट राज्यको स्थापना गर्न सकिन्छ। बौद्ध विधिशास्त्रमा आधारित भएर यदि कानुन निर्माण र कार्यान्वयन गरियो भने यस प्रकृतिमा मात्रै नभएर ब्रह्माण्डमा रहेका कुनै पनि प्राणीले दुःख अथवा अन्यायमा पर्नु पर्दैन। किनकि बौद्ध विधिशास्त्र प्रकृतिसँग प्रत्यक्ष रुपमा जोडिएको छ। बौद्ध शिक्षा भनेको प्रकृतिप्रेममा आधारित शिक्षा हो। बौद्ध विधिशास्त्रले नैतिकता, करुणा, दया, माया, प्रेम जस्ता कुरा्हरुका साथमा समानता र स्वतन्त्रतालाई विशेष जोड दिन्छ।
भबतु सब्ब मंगलम।
-लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ ल अन्तर्गत बि= ए= एल=एल=बि=दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन।