
संजोक अर्याल
मानव समाजलाई स्थायित्व, शान्ति र अनुशासनमा राख्नका लागि नैतिक मूल्य र कानुनी संरचना आवश्यक तत्त्वहरू हुन्। इतिहासका विभिन्न सभ्यतामा नैतिकताका आधारमा कानुनी संरचनाहरू विकास गरिएको पाइन्छ तर गौतम बुद्धले प्रस्तुत गर्नुभएको विनय पिटकको कानुनी व्यवस्था यस्तो प्रणाली हो, जसले मानव नैतिकतालाई कानुनी रुप प्रदान गरेको छ। विनय केवल धार्मिक आस्था र भिक्षुहरूको अनुशासनको संहिता मात्र नभइ मानव चेतना र सामाजिक उत्तरदायित्वको अभिव्यक्ति पनि हो।
बौद्ध धर्मको आधारभूत तिन ग्रन्थहरूमध्ये पहिलो विनय पीटक हो। विनय पिटक अन्तर्गत सामान्यतया सुत्तविभङ्ग, खण्डक र परिवार पर्दछन्। जसले बौद्ध धर्मालम्बीहरूको जीवनशैली व्यवहार र धार्मिक अनुशासनलाई व्यवस्थित गर्दछ। विनय भन्नाले नैतिक अनुशासन, शुद्ध आचरण र आत्मनियन्त्रणलाई जनाउँछ, भने पिटक भन्नाले संग्रह हो भन्ने अर्थ लाग्छ। बुद्धले आफ्ना अनुयायीहरुलाई धार्मिक मार्गमा सही ढंगले हिडाउनका लागि जुन अनुशासन र नियमहरू प्रतिपादन गर्नुभयो त्यसैको विस्तृत प्रस्तुति विनय पिटकमा पाइन्छ। बौद्ध धर्म केवल दर्शन र ध्यानको अभ्यास मात्र होइन, यो नैतिकता, व्यवहार र अनुशासनको जीवनशैली हो। यसको मूल मर्म नै अहिंसाको अन्त्य गर्दै सत्य, सन्तोष र सदाचारको स्थापना हो। यी मूल्यहरुलाई व्यवहारमा उतार्न विनयको आवश्यकता पर्छ। विनय पिटकले व्यक्तिगत र सामाजिक दुवै जीवनका लागि समुचित मार्गदर्शन दिन्छ। यसले भिक्षु र भिक्षुणीहरुले कस्तो व्यवहार गर्ने, कस्तो जीवनशैली अपनाउने र कसरी धार्मिक जीवन बिताउने भन्ने स्पष्ट दिशा दिन्छ। वर्तमान परिपेक्षमा हेर्दा बिनय पिटकका अधिकांश नियमहरू भिक्षु तथा भिक्षुणीमा मात्र लागू नभई सामान्य व्यक्तिहरूका लागि पनि उत्तिकै आवस्यक देखिन्छ।
वर्तमान सन्दर्भमा विनय पिटकका दस्तावेजहरूलाई प्रत्यक्ष रुपमा कानुनमा उल्लेखित गरिएको त छैन। यद्यपि यसका आधारभूत मूल्यहरू जस्तै अहिंसा, सत्यता, अनुशासन, चोरी नगर्ने, यौनचारबाट टाढा रहने र नशा सेवन नगर्ने लगायतका कुरालाई नेपालका कानुनले समावेश गरेको छ। नेपालको मुलुकी फौजदारी संहिता २०७४ मा हत्या, बलात्कार, चोरी, जबरजस्ती, ठगी र लागू औषध सेवन जस्ता कार्यलाई अपराध मानी दण्डको व्यवस्था गरिएको छ। यी कानुनी व्यवस्थाहरू र समाजमा अनुशासन कायम गर्ने उद्देश्यसँग मेल खाएको देखिन्छ। त्यस्तै मानवअधिकार र धर्मको स्वतन्त्रता सम्बन्धी नेपालको संविधानले धर्मपालन, सदाचार र व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्छ र यी कुरा पनि विनय सँग मिल्दोजुल्दो छ।
जसरी विनय पीटकमा कुनै भिक्षुले नियम उल्लङ्घन गरेमा उसलाई सङ्घबाट निष्कासन मात्र गरिँदैन कि उसलाई आत्मसमीक्षा, प्रयाश्चित र मुद्दाको गम्भीरता हेरी पुन संघमा प्रवेशको मौका पनि दिइन्छ। त्यसरी नै यो विचार आजको पुनःस्थापनामा आधारित न्याय प्रणालीसँग गहिरो रुपमा मेल समेत खान्छ। नेपालको किशोर न्याय ऐन, पीडित सहायता ऐन र पुनःस्थापना केन्द्रहरू जस्ता संरचनाहरुले पनि अपराधीलाई सुध्रिने अवसर दिने नीति अपनाएका छन्। यसले विनयको सुधारवादी परम्पराको जगमा नेपाली कानुन प्रणाली उभिन खोजेको पुष्टि गर्छ।
विनय पीटकमा जसरी नियम तोड्ने भिक्षुलाई सजाय दिनुपूर्व सोधपुछ गर्ने प्रक्रिया अपनाउनुपर्ने व्यवस्था छ। यसरी नै नेपालको सन्दर्भमा पनि दोषी प्रमाणित गर्ने, क्षमा माग्ने मौका दिने र साक्षी राख्ने परिपाटी यही सन्दर्भबाट आएको भन्ने दर्शाउँछ। नेपालको फौजदारी न्याय प्रक्रियामा पनि अनुसन्धान, अभियोजन र निष्पक्ष सुनवाई अनिवार्य रहेको छ।
बिनय पिटकमा जसरी स्पष्ट उल्लेख छ कि प्रत्येक व्यक्तिले आफ्ना कर्तव्य र दायित्व इमान्दारपूर्वक पालना गर्नुपर्छ । त्यसरी नै नेपालको संविधानको धारा ४८ मा उल्लिखित नागरिक कर्तव्य सम्बन्धी कानुनमा लागु हुन्छ। त्यस्तै मुलुकी देवानी समिता २०७४ मा व्यक्ति वा संस्था कसरी कानुनी रुपमा अर्को व्यक्तिसँगको आर्थिक वा व्यवहारिक जिम्मेवारी पालना गर्नुपर्छ भन्ने कुरा स्पष्ट गरिदिएको छ । ऋणको भुक्तानी शर्तको पालना इमान्दारिता यी सबै विनय पिटककै नैतिकतामा आधारित भएको देखिन्छ। विनय पिटकमा जसरी भिक्षु वा भिक्षुणीले कुनै प्रतिज्ञा गरेपछि त्यसलाई पूर्णरूपमा पालना गर्नुपर्छ भन्ने व्यवस्था छ। भने त्यसैलाई आत्मसाथ गर्दै यदि कुनै व्यक्तिले कसैसँग सम्झौताहरू करार हरू उल्लङ्घन गर्दछ भने दण्ड वा क्षतिपूर्तिको भागीदार बन्नुपर्छ। भन्ने कुरा पनि विनय पिटक कै प्रभाव हो भन्ने कुरा जान्न सकिन्छ।
बुद्धले जात, लिङ्ग, सम्पत्ति वा वंशका आधारमा कुनै भेदभाव नगरि सम्पूर्ण प्राणीमाथि करुणा र मैत्री भाव राख्नुपर्ने शिक्षा दिनुभयो। यही सोच नेपाल लगायतका आधुनिक संविधानले अङ्गीकार गरेका छन्। जसमा समानता धर्मनिरपेक्षता र गैर भेदभावका कानुनी प्रबन्धहरु राखिएका छन्।
गौतम बुद्धको दर्शन केवल मोक्ष प्राप्तिका लागि मार्गदर्शन थियो भन्ने धारणा अपूर्ण र अल्पसोच हो। वास्तवमा उहाँले मानव जीवनलाई नैतिकवान, विवेकी र उत्तरदायी बनाउनुपर्ने कुरामा महत्त्व दिनुभएको थियो। आजको मानव कानुनले मानिसको अधिकार र कर्तव्य बीच सन्तुलन कायम गर्ने प्रयास गर्छ। उहाँले जे मूल्यहरू प्रतिपादन गर्नुभयो ती नै आधुनिक कानुनको आधार हुन्। बुद्धको नैतिकता व्यवहारमा आधारित थियो। उहाँले के गर्नु उचित हो, भन्दा पहिला के ले अरुलाई दुःख दिन्छ भन्ने प्रश्नलाई प्राथमिकता दिनुहुन्थ्यो। पाँच सिल र आर्य अष्टाङ्गिक मार्ग यस्ता नैतिक सिद्धान्तहरू हुन्, जसले आत्म अनुशासन, अहिंसा, सत्य, करुणा र व्यावहारिक अभ्यासमा जोड दिन्छन। यस्ता नैतिक नियमहरु व्यक्तिगत आचरणका मात्र नभई सामाजिक शान्ति र सहअस्तित्वका आधार पनि हुन्।
त्यस्तै नेपालका शिक्षा नीति, समाजिक नीति र अपराध नियन्त्रण कानुनले पनि बौद्ध नैतिक शिक्षाबाट प्रेरणा लिएको देखिन्छ। उदाहरणका लागि लागू औषध दुरुपयोग नियन्त्रण, महिला तथा बालबालिका अधिकार र सामाजिक न्याय सम्बन्धी कानुनहरू यी सबैमा अहिंसा संवेदना र उत्तरदायित्वको विचार स्पष्ट छ। बुद्धको नैतिक शिक्षाले केवल नेपालको कानुनमा होइन संसारभरि नै कानुनी संरचना र मानव अधिकार अवधारणा प्रभावित पारेको छ। यसले जापान थाइल्याण्ड श्रीलंका जस्ता देशका संविधान शिक्षा नीति र अपराधिक कानुनमा बुद्धको नैतिक सिद्धान्तलाई समावेश गरेको छन्। आजको असमानता, भ्रष्टाचार, हिंसा,सामाजिक द्वन्द जस्ता समस्याहरू समाधान गर्न कानुनी व्यवस्थाले मात्र पुग्दैन। तसर्थ नैतिक आधारमा टेकेको कानुनी चेतना आवश्यक हुन्छ।
यसकारण बौद्ध विनय केवल धार्मिक नियम नभई यो बौद्ध नैतिकताको विधिवत् कानुनी ढाँचा हो। जसले बौद्ध संघलाई अनुशासित शुद्ध र समाजका लागि आदर्श बनाइराख्न सहयोग गर्छ। बौद्ध विनयमा उल्लेखित कानुनहरू सामान्य व्यक्तिहरूले पनि प्रयोग गर्दै जाने हो भने अवश्य पनि समाजबाट अहिंसा, द्वन्द, कलह, भ्रष्टाचार लगायतका अन्य कुरीतिहरू अन्त्य हुन्छन्। जसले एउटा सभ्य, शान्त र समृद्ध समाजको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ।
भवतु सब्ब मंगलम्!
(लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ ल सिटि क्याम्पसमा बि.ए.एल्.एल्. बि. दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन्।)