
कल्पना पौडेल
काँडाको मुकुट
अँध्यारो भित्तामा टाँसिएको एउटी छायाँ,
गर्भ बोकिरहेकी छ—न सम्बन्ध, न नाम।
चिसो चौकी जस्तै कडा छ समाज,
जहाँ न्यायको काँटा फुटेको छ आँखा।
उसको गर्भ—एक जुनीको मौन विद्रोह,
तर कानुनको कलम खोजिरहेछ विवाहको औठा छाप।
सङ्घारमै टाँसिएको सन्तान,
जसलाई चिन्दैन उसका रगतका रेखाहरू।
पुरुषको वाचा—धुँवाजस्तो
सम्झौताको पत्र—जसमा प्रेम थिएन,
थिए केवल देहका जटिल सन्दर्भहरू।
तर हेर, अब कानुन आफै चिच्याइरहेछ—
“बच्चा जन्मिएको छ, बिहे गर।”
किनभने उसले देखेको छ—रगत,
सुनेको छैन—रून नसकेको महिलाको स्वर।
उसले भनेकी छैन—”म चाहन्छु”,
उसले त केवल बोकिरहेकी छिन्—
काँडाको मुकुट जस्तो एक जिम्मेवारी,
र झोलाभरि तिरस्कार।
कुहिएको कानुनको पत्रहरू
झैं पुराना छन् यी तर्कहरू—
के बहुविवाह समाधान हो ?
के मातृत्वको मूल्य विवाह हो?
तर ऐना चिच्याउँछ—”होइन!”
नारी केवल सन्तानको माध्यम होइन,
उनी ब्रह्मा होइनन्—
जो पुरुषको गल्तीबाट ब्रह्माण्ड सिर्जना गरून्।
म देख्छु—
घरको आँगनमा उभिएको बालक,
बिना नामको वंशज, बिनाअधिकारको उत्तराधिकारी।
उसको आँखामा प्रश्न छ—
तर उत्तर दिन एक शब्द पनि बाँकी छैन समाजसँग।
र म एक थान कानून बन्न चाहन्छु—
न त विवाहलाई मूर्ति बनाउने,
न त अपराधीलाई मन्दिरमा पुज्ने।
म बन्न चाहन्छु, एउटा धारिलो तराजु—
जसले नाप्छ—रगत होइन, जिम्मेवारी।
मेरो मातृत्व चिच्याउँछ—
“म साक्षी हुँ—तर तिम्रो सम्बन्ध होइन।
म आत्मा हुँ—कानुनी संरचनाको सजावट होइन।
म बुझाउँछु न्याय—तर दया होइन।
म जनाउँछु अधिकार—तर विवाहको दान होइन।”
“आज म लेख्छु,
एक कानुन—सन्नाटा
र चिच्याहटका साक्षीमा
प्रमाणित।
म चाहन्छु, म सक्दछु, म छु।”