
लालकिरण पोख्रेल
चुनाैतीका पहाडहरू फाेट्दै फाेट्दै जाउ
कर्णालीकाे भेलसरि जुध्दै जुध्दै आउ
सुनाैलाे बनाउनु छ विशाल हाम्रो राज्य
स्वीकार्य छैन हामीलाई मातृभूमि भाज्य ।
अग्ला अग्ला हिमालहरू सधैं मुस्कुराउँछन्
लहलह धानका बाला सधैं झुलिरहन्छन्
बहुजाति भाषाधर्म नेपालीको पहिचान
नयाँ नेपाल निर्माण गर्न थालाै नयाँ अभियान ।
अमृत समान बगिरहने हिमालको पानी
विदेशीको पहरेदारमा वित्याे जिन्दगानी
वनभरि लालीगुराँस भिरपाखा सुनगाभा
आज हामी खाेजिरहेछाैं अध्यारोमा आभा ।
नेपालीको श्रम बग्याे बग्याे उब्जाउ माटाे
उब्जाउ माटाे मासी मासी बने सयाैं बाटाे
भञ्ज्याङकाे वर पिपल कुर्छ बाटाे हेरी
सापहरूकाे डसाइबाट मुना रून्छिन् फेरि ।