सदस्यता नवीकरण नपाएकी :विद्या

माधब केसी

नेपाली राजनीतिमा केही समय यता निकै नै चर्चा पाएको एउटा विषय “पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कन लागेको भन्ने” हो। यो विषयले पछिल्ला केही महिना यता निकै नै चर्चा पायो। चिया, चौतारादेखि भट्टी-पसलसम्म पूर्व राष्ट्रपति फेरि सक्रिय राजनीतिमा फर्कन लागेको कुराको चर्चा थियो। हुन त पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कन सक्ने कुरा राजनीतिक तहमा यता कता सुनिन्थ्यो। कतिपय राजनीतिक विश्लेषकले यस्ता खालको तर्क राख्दथे भने आम मानिसहरुले बजारमा आएका यस्ता तर्कलाई त्यति गम्भीर रुपमा नलिएका र फर्कन्नन् होला, राष्ट्रपति भइसकेको मान्छे किन पार्टीमा फर्कलान् भन्ने तर्क राख्दथे। खासै चर्चा हुँदैन थियो। यसो त पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आफैले यो विषयमा खुलेर कुरा नराखेता पनि उहाँ पहिलोपटक राष्ट्रपति भएर पहिलो कार्यकाल सकिसकेपछि, आफूलाई दोस्रो पटक दुई कार्यकाल राष्ट्रपति नबनाउने हो भने आफू सक्रिय राजनीतिमा फर्कने भन्दै घुर्की लगाएको भनेर त्यतिबेला केही सञ्चार माध्यमले समाचार लेखेको कुरा मलाई सम्झना छ। यी सबै कुराहरू उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति भइसकेपछि हराए।

पहिलो र दोस्रो गरी ८ वर्षको राष्ट्रपतिको रूपमा उनको कार्यकाल भने विवादरहित रहन सकेन। विवादका बीच उनलाई सबैभन्दा विवाद के कुरामा पारिन्थ्यो र आक्षेप लगाइन्थ्यो भने उनी नेकपा एमालेको कार्यकर्ताको रूपमा आफ्नो काम गर्छिन्। अझै ओलीले जे भन्छन्, विद्या तेही गर्छिन् भन्थे। यी सबै हेर्दा उनी एमालेको सक्रिय राजनीतिमा फर्केलान र त्यसमाथि ओलीसँगै पैठेजोरी खोज्छिन् भन्ने आकलन सायद कसैले गरेका थिएनन्। यस्तै हुन पुग्यो। राष्ट्रपतिबाट बिदा भइसकेपछि विद्या राजनीतिमा फर्कन लागेको चर्चा सुरु भयो। चर्चासँगै पछिल्लो एक वर्ष यता अलि धेरै सुनिन थाल्यो र विद्यादेवी भण्डारीले पनि आफ्ना गतिविधिहरु त्यसैगरी अगाडि बढाउन थालेको धेरैले आभास गर्न थाले। उनको देश र विदेशको दौडधुप र सदस्यता नवीकरण भएको, लिइसकेको चर्चाका बीच कतिपयले तर्क राख्दथे यो जे भइरहेको छ ओली कै डिजाइनमा भइरहेको छ। ओलीको सिग्नल बिना यसो हुन नसक्ने तर्क राख्दथे भने कतिपयले होइन होइन अब विद्या ओलीलाई एघारौं महाधिवेशनमा अध्यक्ष बन्नबाट रोक्ने र आफू अध्यक्ष हुने गरी अगाडि बढेको तर्क राख्दथे। ओलीलाई भारत चीन दुबैले नरुचाएको र विद्यालाई लिएर अगाडि जाँदा चीनको सहयोग हुने र यसले गर्दा बाम गठबन्धन बनाउन सकिने र विद्यानै यसको विकल्प हुन् भन्ने तर्क गर्दथे। सदस्यता नवीकरण गरेको कुरा हामीले सञ्चारमाध्यमहरूमा सुन्थ्यौ आधिकारिक रुपमा पार्टी बाट त्यो बेला कहीँ कतै सुनिएन। सुनियो त केही दिन यता बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको निर्णयमा विद्याको सदस्यता नवीकरण नभएको र उनलाई नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने बाटो बन्द भएको भन्ने कुरा औपचारिक र आधिकारिक रूपमा बाहिर आएसँगै धेरैलाई तनाव सिर्जना भएको देखिन्छ।

यसो त विद्या राजनीतिमा आउने कुराको चासो उत्साह आम सर्वसाधारणमा त्यस्तो केही थिएन। बरु उनी सक्रिय राजनीतिमा आउने पछिल्लो केही महिना यता व्यापक चर्चा भएसँगै आम सर्वसाधारणहरूको बुझाई के थियो भने राष्ट्रपति भइसकेको मानिस फेरि किन र के का लागि राजनीतिमा आउनु पर्यो। उनीहरुको आशय बुझिन्थ्यो राष्ट्रपति भइसकेको मान्छे सर्वोच्च पदमा पुगेको मान्छे राजनीतिमा आउने कुरालाई धेरैले ठिक मानिरहेका थिएनन् । राष्ट्रपतिको सक्रिय राजनीतिमा आउने आशय सँगै त्यो कुरालाई बल पुग्ने गरी राष्ट्रपतिलाई जसले प्रोत्साहन दिए ती पार्टीभित्र र बाहिर ओली पीडितहरू थिए। हिजो एउटै पार्टीमा भएर ओली पीडित भएका हुन् या अहिले ओलीको पार्टीमा रहेर पनि ओलीबाट पीडित भएकाहरू हुन्। यिनीहरू केही महिना यता विद्याले देशभित्र र देश बाहिर राजनीतिक रुपमा देखाएको सक्रियता र स्वयं एमाले पार्टीभित्रको पार्टी संगठन, भातृय संगठनहरूमा देखाएको सक्रियता,रुचिले विद्यायसँग केही रहेको र उनको अबको यस्तै सक्रियताले ओलीलाई दबाबमा पार्दै ओली हटाउन सकिन्छ भन्नेमा थिय। मैले माथि भने जस्तै ओली पीडित पार्टीभित्र र बाहिरका हरु निकै हौसिएका देखिन्छन्। यिनीहरूले प्रत्यक्ष,अप्रत्यक्ष रुपमा विद्यालाई अगाडि बढाउन उकासिरहेका पनि थिए। मलाई लाग्छ उनीहरु सबैको एक सुत्रिय माग विद्यासँग के थियो भने अब ओलीलाई एघारौँ महाधिवेशनबाट रोक्ने र ओली हटाउने थियो। यसो गर्न सके चयनको निद्रा पर्ने र लामो सास फेर्ने कुरामा उनीहरू थिए।

विद्या पनि त्यसैगरी एमालेका हरेक गतिविधिहरूमा चासो राख्न थालिन् र सार्वजनिक रुपमा आफू एमालेमा फर्किसकेको र आफूलाई पूर्व राष्ट्रपति नभनेर सहजै कमरेड भन्न सकिने मिल्ने घोषणा गरिन्। उनी यतिमै रोकिनन् आफू अब अध्यक्ष बन्ने र प्रधानमन्त्री बन्न सक्ने सम्मका कुरा सुनाइन्। यी सबै गतिविधि हेरिरहेका, बुझिरहेका, सुनिरहेका ओलीले विद्याको सदस्यता नवीकरण नगर्ने कुरा केन्द्रीय कमिटीबाट पास गराएर एकतिर दश सिकार गरेका छन्। यो भएसँगै विद्यालाई पार्टीमा सक्रिय बनाएर ओली तह लगाउन सकिन्छ भनेर लागेकाहरू फेरि एकपटक थचारिएका छन्। स्वयं विद्यादेवी भण्डारीलाई पनि धेरैले किन पूर्व राष्ट्रपतिको रुपमा सम्मानित भएर न बसेर किन यसो गरिरहेकी होलिन भनेर तर्क गर्दछन्। भने कतिपयले चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भने जस्तै हालतमा विद्यादेवी पुगेको तर्क राख्दछन्। विद्याको पार्टीमा फर्कने कुराले राष्ट्रपतिको गरिमालाई कम गरेको तर्क गर्दछन्।

संविधानले राष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन सक्ने कुरामा बन्देज नलगाएता पनि। मेरो बुझाइमा जनस्तरबाट हेर्दा राष्ट्रपति भइसकेको मान्छे एउटा पार्टीमा फर्कने र अध्यक्ष बन्छु भन्दै हिँड्ने कुरा त्यति सोभनीय पनि देखिएको थिएन। भने सक्रिय राजनीतिमा फर्कने र पार्टी अध्यक्ष नै हुने कुरा राखेकी विद्याले किन फर्कन खोजेको भन्ने कुरामा स्पष्ट जवाफ जनतालाई दिन सकेकी थिइनन्। सदस्यता नवीकरण नपाएर छटपटिएकि विद्याको केही दिन पहिलेको पत्रकार सम्मेलनमा पनि खास कुरा केही नआएपछि उनलाई बोकेकाहरू निराश बनेका छन्। ओली तह लगाउने उपयुक्त पात्र र विकल्पको रूपमा विद्यालाई देखेर हौसिएकाहरू पछारिएका छन्। यी घटनाक्रमसँगै ओली आफ्ना विरुद्धमा आउन खोज्नेहरूलाई सजिलै ठाउँ, ठेगाना देखाइदिन्छन्। विरोधीलाई बित्ता नापेर भित्तामा पुर्‍याउन माहिर ओलीले फेरि एकपटक आफ्नो सल्लाहा बिना अरुको उक्साहटमा लागेर हौसीएकी विद्यालाई बित्ता नापेर भित्तामा पुर्‍याउएका छन्।बाध्य बनेका छन्। यो सँगै बरु उनले उमेरहदको कुरा हटाएर आफ्ना लागि थप अगाडि बढ्ने बाटो क्लियर गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation