दैलेखको चामुण्डाबिन्द्रासैनीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

सुर्खेत । पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, माथिल्लो खाडा भन्ने ठाउँमा बिहीबार बेलुका गाउँलेहरू भेला भएर तीज गीतमा नाच्दै रमाइलो गरिरहेका थिए । सोही कार्यक्रममा पुगेकी १३ वर्षीय एक बालिका बलात्कारको सिकार भएकी छन् ।

राति १२ बजेसम्म सबै नाच्ने–गाउने रमाइलोमै व्यस्त थिए । निन्द्रा लागेपछि सुत्न भनेर ती बालिका घरतिर लागिन् ।

उनीसँगै अन्य चार जना साथी पनि थिए । बाटोमा दुई युवकले उनीहरूलाई लखेट्न थाले । ती युवक सोही नगरपालिकाका २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी थिए ।

अँध्यारोमा दौडिँदै गर्दा अरू साथीहरू भागेर ज्यान जोगाउन सफल भए, तर १३ वर्षीय ती बालिका पछि परिन् । प्रहरीका अनुसार ती युवाले लेखटी–लखेटी पछाडिबाट ढुङ्गाले हाने । उनीहरूले हानेको ढुङ्गा ती बालिकाको दाहिने पाखुरामा लाग्यो । ‘उनलाई निकै चोट लागेछ,’ जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लालबहादुर सुनारले भने, ‘उनी पीडाले ढलिन् ।

साथीहरू गुमाएकी, चोटले घाइते भएकी ती निःसहाय बालिकालाई युवाहरूले  उठाएर एकान्तमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ ।

उनीहरूले ती बालिकालाई पालैपालो जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुनार बताउँछन् ।

यो घटना तबमात्र थाहा भयो, जब ती बालिकाका अन्य साथीहरूले डराउँदै घरमा खबर गरे । पछि आफन्त र स्थानीयवासी राति नै बालिकाको खोजीमा निस्किए । पीडित बालिकाका आमाबुबा भने रोजगारीको सिलसिलामा भारतमा छन् । पीडित बालिका स्कुल पढ्ने र घरको रेखदेख गर्थिन् ।

उनीहरू घटनास्थल नजिक पुगेको चाल पाउनासाथ ती युवा त्यहाँबाट भागेका थिए । परिवारले बालिकालाई बेहोस अवस्थामा फेला पारेको प्रहरी निरीक्षक सुनार बताउँछन् ।

स्थानीयका अनुसार उनको हात मर्केको थियो भने शरीरबाट रगत बगिरहेको थियो । हतारहतार बोलेरो गाडीमा राखेर उनलाई दैलेख अस्पताल पुर्‍याइएको थियो ।

शुक्रबार पीडित पक्षले प्रहरीमा किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय, दैलेखले तत्कालै दुवै आरोपितलाई पक्राउ गरेको प्रहरी निरीक्षक लालबादुर सुनारले बताए ।

‘दुवैलाई हिरासतमा राखी अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको छ,’ उनले भने ।

अहिले बालिकाको दैलेख अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा उपचार भइरहेको छ । उनको दाहिने हात मर्केको छ भने गुप्ताङ्गमा गहिरो चोट र रक्तश्राव भएको छ । रातोपाटि।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation