देशभर मौसम बदली अधिकांश स्थानमा वर्षा हुने

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा नेपालको तराईआसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने देखिएको बताएको छ।

जसको प्रभावले आगामी २४ घण्टा देशभर मौसम बदली र अधिकांश स्थानमा वर्षा जारी रहने प्रक्षेपण मौसम महाशाखाले गरेको छ।

महाशाखाले आज (साउन २८, बुधबार) बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,

आज दिउँसो : देशभर पूर्णतया बदली (आकाशभरि बादल) रहनेछ। देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत पहाड क्षेत्रमा पूर्णतया बदली रही देशका बाँकी स्थानमा साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाड भूभाग, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईका धेरै स्थान र बाँकी प्रदेशका पहाड र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका पहाड र तराई भूभागको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको तथा लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थान, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

मौसम महाशाखाले यहाँ ‘दिउँसो’ शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।

मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।

अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।

यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।

यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।

त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।

त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।

यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation