
कपिलवस्तु, २९ साउन । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज गिरधारीलाल न्यौपानेले पार्टीको आगामी नेतृत्व पनि अध्यक्ष केपी शर्मा ओलीले नै गर्ने बताएका छन् ।
एमाले शिवराज नगर कमिटीको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता न्यौपानेले अध्यक्ष ओलीको नेतृत्वमा एमाले अझ मजबुत हुँदै मुलुकलाई राजनीतिक स्थिरता र विकासको बाटोमा अघि बढाउने लक्ष्यका साथ अघि बढ्ने बताएका हुन् ।
न्यौपानेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको कार्यकारी पदमा ल्याउने चर्चा अस्वस्थ राजनीतिक अभ्यास हुने समेत बताए । संवैधानिक निकायको प्रमुख भइसकेको व्यक्ति पुनः पार्टी नेतृत्वमा आएर सक्रिय राजनीतिमा प्रवेश गर्नु सही अभ्यास होइन भन्ने एमालेको धारणा रहेको उनले उल्लेख गरे ।
‘पूर्वराष्ट्रपतिलाई पार्टीको मात्र नभई राष्ट्रकै अभिभावकको रूपमा रहने जिम्मा एमालेले दिएको हो । उहाँको भूमिका राजनीतिक दलको प्रत्यक्ष गतिविधिभन्दा बाहिर रहँदा नै निष्पक्ष र सम्मानित हुन्छ’ न्यौपानेले भने ।
एमाले शिवराज नगर कमिटीका अध्यक्ष महादेव पोखरेलको अध्यक्षतामा बसेको बैठकमा पार्टी केन्द्रीय सल्लाहकार सदस्य साधुराम खनाल, प्रदेश सदस्यहरु नेत्रराज अधिकारी, अर्जुनकुमार केसी, लंक हमाल, डम्बर शर्मा, शिवकुमारी चौधरी, जिल्ला अध्यक्ष बाबुराम खनाल लगायतले सम्बोधन गरेका थिए ।
बैठकमा नेपाली कांग्रेसका क्रियाशील सदस्य नेता हिम केसी, वसन्ता पाण्डे लगायताका नेताहरु एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रमुख अतिथि समेत रहेका एमाले केन्द्रीय सदस्य, कपिलवस्तु जिल्ला इन्चार्ज तथा लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपानेले टिका र खादा ओढाएर पार्टीमा स्वागत गरेका थिय।