
शंकर प्रसाद पोख्रेल
३१ साउन, बुटवल
आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी ‘श्रीकृष्णजन्माष्टमी’ पर्व मनाइँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको विश्वास गरिन्छ। त्यसैले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ नामले चिनिन्छ।
यस अवसरमा देशभरका कृष्ण मन्दिरहरूमा विशेष पूजा–आराधना, प्रवचन, भजन–कीर्तन तथा धार्मिक कार्यक्रम आयोजना भएका छन्। भक्तजनहरूले उपवास व्रत बस्ने र रातभर जाग्राम गर्ने परम्परा आज पनि निरन्तर छ। महिलादेखि पुरुषसम्म सबैले श्रद्धा–भक्तिसहित पूजा अर्चना गरी भगवान् श्रीकृष्णको दिव्य जन्मजयन्ती मनाइरहेका छन्।
यसरी आजको दिनलाई सत्य, धर्म र भक्तिको मार्गमा प्रेरणा दिने अवसरका रूपमा लिइएको छ।