
शंकर प्रसाद पोख्रेल
३१ साउन, बुटवल ।
मिलन कला केन्द्रले आजदेखि बुटवलमा भव्य रूपमा ‘नृत्य मञ्च’ मेगा अडिसन आयोजना गरेको छ। कार्यक्रम बुटवल–१०, कालिकानगरस्थित इलिट इङ्लिस बोर्डिङ स्कुलको प्रांगणमा बिहान १०:०० बजेबाट सुरु भएको हो।
यस अडिसनमा बुटवल तथा रुपन्देहीका विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक भाग लिएका छन्। नृत्य मञ्चलाई विभिन्न उमेर समूहका प्रतिभाशाली विद्यार्थीहरूले आफ्नो कला प्रदर्शन गर्ने उत्कृष्ट अवसरका रूपमा लिएको देखिन्छ।
मिलन कला केन्द्रकी सञ्चालिका तथा अध्यक्ष मीना बुढाथोकीले जानकारी दिँदै नृत्य मञ्चलाई राष्ट्रियस्तरमै प्रतिभा उजागर गर्ने माध्यमका रूपमा अघि बढाइने बताइन्। उनका अनुसार अडिसन चरण पार गरेका प्रतिस्पर्धीहरूलाई फाइनल राउन्डसम्म पुर्याइनेछ र अन्तिम चरणमा पुगेर सर्वश्रेष्ठ नृत्य कलाकार (Best Dancer) घोषणा गरिनेछ।
कार्यक्रमका मुख्य प्रायोजक ‘पिपल्स स्किन केयर एण्ड वेलनेस’ रहेका छन् भने सह–आयोजकमा विभिन्न सांस्कृतिक संघ–संस्थाहरूको साथ रहेको छ। आयोजकले कार्यक्रममा सहभागी विद्यार्थीहरूको प्रस्तुति र प्रदर्शनलाई निष्पक्ष मूल्याङ्कनका आधारमा चयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नृत्य मञ्चलाई बुटवल र रुपन्देही जिल्लामा कला र संस्कृति प्रवर्द्धनको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। आयोजकको विश्वास छ—यस किसिमका कार्यक्रमहरूले नयाँ पुस्तामा कला–संस्कृतिप्रतिको आकर्षण बढाउने मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिभा देखाउन सघाउनेछ।
बुटवल ,रुपन्देही लगायत देशभरका विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता र दर्शकहरूको चासोले यसपटकको नृत्य मञ्चलाई सफलतापूर्वक सम्पन्न गर्ने अपेक्षा गरिएको छ।