सरकारको मेडिकल माफिया चरित्रविरुद्ध अखिल (छैठौं) को प्रदर्शन

 

समाचार सारांश

अखिल (छैठौं) ले सरकारद्वारा १,३५९ एमबिबिएस सिट निजी क्षेत्रलाई मात्र दिने निर्णयविरुद्ध शान्तिवाटिकामा प्रदर्शन गरेको छ। अध्यक्ष सुवास जिसीले यसलाई संविधान विपरीत, जनविरोधी र राष्ट्रघाती निर्णय भन्दै देशव्यापी आन्दोलनको चेतावनी दिएका छन्।

 

३१ साउन, काठमाडौं ।
सरकारले मेडिकल शिक्षामा गरेको नीतिगत निर्णयको विरोधमा अखिल (क्रान्तिकारी) छैठौंले शनिबार काठमाडौंको शान्तिवाटिकामा प्रदर्शन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको राष्ट्रिय चिकित्सा आयोगले हालै १,३५९ वटा एमबिबिएस सिट निजी क्षेत्रका लागि मात्र छुट्याएपछि अखिल (छैठौं) ले साङ्केतिक विरोध कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सुवास जिसीले उक्त निर्णयलाई संविधान विपरीत र जनविरोधी भएको भन्दै कडा आपत्ति जनाए। उनले भने, “गरिबका छोराछोरीले शतप्रतिशत नम्बर ल्याएर पनि अब नेपालमा डाक्टर बन्न पाउने सम्भावना समाप्त भएको छ। प्रधानमन्त्री ओलीले सम्पूर्ण कोटा निजी क्षेत्रलाई दिएर नेपाली जनतामाथि गद्दारी गरेका छन्।”

उनले शिक्षा र स्वास्थ्य निःशुल्क हुने संवैधानिक प्रावधानको स्मरण गर्दै प्रधानमन्त्री तथा शिक्षामन्त्रीमाथि संविधान र जनतामाथि घात गरेको आरोप लगाए। यसलाई उनले राष्ट्रघात को संज्ञा दिँदै देशव्यापी आन्दोलन अपरिहार्य भएको चेतावनी दिए।

सङ्गठनले भने, अहिले गरिएको प्रदर्शन केवल साङ्केतिक विरोध हो, आवश्यक परे देशव्यापी आन्दोलनमा जाने तयारी रहेको छ।

कार्यक्रमको सञ्चालन महासचिव पुरन पोख्रेलले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation