
काठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतस्थित नेपालीको हकहित र सामाजिक सुरक्षासम्बन्धी मागसहित परराष्ट्रमन्त्री डा. आरजू राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
२०८२ भदौ १ गते आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाएको हो । मूल प्रवाहका केन्द्रीय अध्यक्ष प्रेम पौडेलको नेतृत्वमा पुगेको टोलीमा केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, केन्द्रीय सचिव घनश्याम न्यौपाने, जातीय समता समाजका महासचिव खगेश्वर सुनार, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, नेपाल पत्रकार महासङ्घ काठमाडौँका सदस्य गोविन्दकुमार शर्मा र अखिल नेपाल युवक सङ्घका सल्लाहकार डम्बर कार्की सहभागी थिए ।
ज्ञापनपत्रमा विदेशस्थित नेपालीको आमचुनावमा मताधिकार र प्रतिनिधित्वको व्यवस्था, सन् १९५० को असमान सन्धि खारेजी वा त्यसबाट प्रदत्त अधिकारको कार्यान्वयन, भारत जाने नेपालीको तथ्याङ्क सङ्कलन, आधारकार्डसँग सम्बन्धित अवरोध हटाउने, नागरिकता प्रदानमा देखिएका समस्या समाधान, योगदानमाथि आधारित सामाजिक सुरक्षा योजनामा भारतस्थित नेपालीको सहभागिता, स्वदेशमै पायक पर्ने स्थानमा पेन्सन सुविधा, भारतमा अध्ययनरत विद्यार्थीका समस्या समाधान, रोजगार तथा म्यानपावर ठगी नियन्त्रण, स्वदेशमै गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधा, भ्रष्टाचार तथा महँगी नियन्त्रण, गणतन्त्रको रक्षा तथा सङ्घीयता खारेजीको माग उठाइएको छ ।
ज्ञापनपत्र वाचनपछि मन्त्री डा. राणाले प्रस्तुत विषयहरू महत्वपूर्ण रहेको बताउँदै समाधानका लागि मन्त्रालयबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “तपाईंहरूले प्वाइन्टआउट गरेका विषय राम्रा छन् । यी विषयलाई समाधान गर्न मन्त्रालयले पहल गर्नेछ । यसैपालिको भ्रमणमा समाधान सम्भव नभए पनि यसबारे निरन्तर प्रयास गर्नेछौँ ।”
विशेषतः आधारकार्डका कारण नेपालीलाई नागरिकता प्रदानमा देखिएको अवरोधबारे मन्त्री राणाले प्रमुख जिल्ला अधिकारीलाई स्पष्ट निर्देशन दिनुपर्ने आवश्यकता रहेको स्वीकार गर्नुभएको थियो।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उक्त ज्ञापनपत्रमार्फत प्रवासी नेपालीको हकहित सुनिश्चित गर्न नेपाल सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेको छ ।