भैरहवामा ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतीय युवक पक्राउ

 

भैरहवा । प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, कानपुर नौवस्ति बस्ने २५ वर्षीय अभिषेक यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा यादवलाई आइतबार साँझ सिद्धार्थनगर–१, बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथमा प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिएको हो।

प्रहरीले यादवको साथबाट ठूलो परिमाणमा नक्कली शैक्षिक कागजात बरामद गरेको जनाएको छ। फेला परेका सामग्रीमा त्रिभुवन विश्वविद्यालयको जस्तै देखिने १०० वटा ट्रान्सक्रिप्ट, ३६ वटा खाली प्रमाणपत्र, विभिन्न संस्थाका नक्कली छाप तथा स्ट्याम्पप्याड, TU का ४,०४० थान होलोग्राम, उच्च माध्यमिक शिक्षा परिषद्का २,००० थान होलोग्राम, राष्ट्रिय परीक्षा बोर्डका १,७०० थान स्टिकर लगायत रहेका छन्।

त्यसैगरी भारतका विभिन्न विश्वविद्यालयका कागजातसमेत बरामद गरिएको छ। जसमा एमिटी विश्वविद्यालयका ८० वटा मार्कसिट, ४० वटा प्रोभिजनल सर्टिफिकेट, ६० वटा क्यारेक्टर सर्टिफिकेट, ४९ वटा अन्य खाली प्रमाणपत्र रहेका छन्। साथै जवाहरलाल नेहरु टेक्निकल युनिभर्सिटी हैदराबाद, छत्रपति साहूजी महाराज युनिभर्सिटी कानपुर, असम उच्च माध्यमिक शिक्षा परिषद्, कुरुक्षेत्र विश्वविद्यालय, आन्ध्र विश्वविद्यालयलगायतका नक्कली प्रमाणपत्र र छाप समेत फेला परेको प्रहरीले जनाएको छ।

यादवसँगै प्रहरीले ४ वटा पेनड्राइभ, ल्यापटप, मोबाइल फोन, एटीएम कार्ड, भारतीय रुपैयाँ १८,५०० र नेपाली रुपैयाँ ३,०२५ नगद समेत बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार प्रारम्भिक अनुसन्धानमा यादव कसैको निम्ति काम गर्ने कामदार मात्र भएको देखिएको छ। “प्रायः विदेश अध्ययन वा रोजगारीका लागि नक्कली प्रमाणपत्र बनाउने गरेको प्रारम्भिक तथ्य फेला परेको छ,” क्षेत्रीले बताए।

उनका अनुसार यस कारोबारमा संलग्न मुख्य व्यक्तिहरुको पहिचान भइसकेको छ तर उनीहरू फरार रहेका कारण खोजी कार्य तीव्र पारिएको छ। पक्राउ परेपछि थप विवरण सार्वजनिक हुने प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation